सुनसरी : आगामी निर्वाचनका लागि नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज मेन्याङ्बोले पार्टीको सदस्यता त्यागेर स्वतन्त्र भएको बताएका छन् । एमालेमा रहेर वर्षाैदेखि पार्टीको काम गर्दै आएका नेता तथा कार्यकर्ताको भावना विपरीत नेतृत्वले गलत गरेको भन्दै पार्टी छोडेर स्वतन्त्र उम्मेदवार उठेको बताएका हुन् । 
पार्टीले कारबाही गर्छ कि भन्ने डर नभएको बताउँदै पार्टीमा नफर्किने समेत घोषणा गरेका छन् । 'म एक स्वतन्त्र नागरिक हुँ, पार्टीले कारबाही गर्ला कि भन्ने डर छैन ।' उनले भने “डर थियो भने त म पार्टीमै बस्थे नि !
पार्टीमा वर्षाै बस्दा पनि नेता तथा कार्यकर्ताको भावना विपरीत नेतृत्वले गलत गरेका कारण आफुँ स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
मेन्याङ्बोले नेतृत्वको गलत कार्यकै कारण धरानमा शक्तिशाली रहेको एमाले गत स्थानीय तहको निर्वाचनमा दुई/दुई पटक पराजय बेहोर्नु परेको बताए । 
'आगामी निर्वाचनका लागि हामीले एकल सिफारिस भएको व्यक्तिलाई ब्याक गराएर अपवित्र गठबन्धन गर्याे जुन गलत थियो' उनले भने । अब पार्टीले टिका लगाएर चुनाव जित्ने दिन गएको बताउँदै जनताको समस्या समाधान गर्न सक्ने नेतृत्व हुनु पर्ने तर्क राखे । 
उनले आफ्नो उम्मेदवार नेतृत्वलाई पाठ सिकाउन समेत भएको बताए । ‘जो नजिकको छ, उसैलाई टिकट दिने गरिएको छ ।’ उनले भने "अब नेता कस्तोलाई मान्ने, को व्यक्ति नेतृत्वमा आए काम गर्न सक्छ, त्यो छान्ने अधिकार पार्टी भित्रका कार्यकर्तामा निहित हुनुपर्छ ।"
मेन्याङ्बोले ठुला नेताहरू राष्ट्रिय मुद्दा भन्दा पनि अन्तर्राष्ट्रिय मुद्दामा केन्द्रित हुन थालेको समेत बताए । उनले आफ्नो स्वार्थ अनुसार विचार नमिल्ने, सिद्धान्त नमिल्नेसँग अपवित्र गठबन्धन गरेर चुनाव जित्नुको एक मात्र उद्देश्य भनेको स्वार्थ अनुसार राजनीति भएको टिप्पणी गरे । 
स्थानीय तहको निर्वाचन पछि स्वतन्त्र रूपमा आम युवाले समग्र राजनीतिलाई भन्दा पनि दल भित्रका खराब प्रवृत्तिलाई अन्त्य गर्न भएको बताए । यसरी स्वतन्त्र युवा आउनु राजनीतिप्रति आक्रोशको झिल्को हो, उनले भने । देशमा सुशासन प्राप्त गर्न, भ्रष्टाचार रोक्न नसकेको र विलासिता जीवन बिताउने बाहेक नेताहरूमा देशको कुनै चिन्ता नभएको उनको भनाई छ । आगामी चुनावमा पाँच दलीय गठबन्धन र एमाले,जसपाको तालमेलको एक मात्र स्वार्थ शक्ति केन्द्रमा कसरी आफुँ जाने बाहेक जनताको समस्याबारे कहिले मुख नखोल्ने समेत उनको भनाई छ ।  
एमालेको राम्रो प्रभाव रहेको सुनसरी क्षेत्र नम्बर एकमा एमाले र जसपाले गठबन्धन गरेर प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको थियो । उक्त क्षेत्रमा जसपाका नेता अशोक राईलाई चुनावको टिकट दिएको थियो । एमालेमा रहेर लामो समय राजनीति गरेका मेन्याङ्बो धरान उपमहानगर पूर्व प्रमुख समेत हुन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार दिएका छन् । स्थानीय तहको प्रमुख भएको समयमा उल्लेखनीय काम गरेर जनतामाझ लोकप्रिय रहेका उनको उम्मेदवारीले प्रमुख गठबन्धनका नेतालाई चुनौती थपिएको छ ।