चतरा : वराहक्षेत्र २  चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
तीन दिनकी नवजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले वराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा तीन दिनअघि शिशुलाई फालेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
आज सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । उनले नवजात शिशु जङ्गलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते वराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालिएको थियो । जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।