चतरा : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अबको राष्ट्रपति नेपाली काङ्ग्रेसकै उम्मेदवार बन्ने दाबी गरेका छन् ।नेपाली काँग्रेसको ध्यान राष्ट्रपतिको निर्वाचन लक्षित भएको बताउँदै कोइरालाले राष्ट्रपतिको विषयमा प्रधानमन्त्री प्रचण्डसँग समेत कुरा भइरहेको बताएका छन् ।
बुधवार वराहक्षेत्रको भरौलमा आयोजना भएको नोना कोइराला स्मृति भवनको शिलान्यास कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले अहिले निर्वाचनको समीक्षा भन्दा पनि राष्ट्रपतिको निर्वाचनलाई प्राथमिकताका साथ राखिएको बताए । केन्द्रमा कुनै विवाद नभएको जिकिर गर्दै उनले भन्ने गुट भेला भन्दा पनि केन्द्रीय समितिको बैठक प्रधान रहेको बताए ।
उनले कार्यकर्ताहरूलाई जनताको सुख दुख सँग जोडिन् आग्रह गरेका छन् । नेपाली काँग्रेस जनताको शक्ति भएकाले सधैँ जनताको माझ जानु पर्ने बताए। काँग्रेस सधैँ जनता र कार्यक्रतासंगै रहेकाले वर्तमान अवस्थामा कार्यकर्ताहरू जनमुखी हुनु पर्ने बत्ताउँदै पार्टीमा युवा, महिलाको आकर्षण गराउन लाग्न आव्हान समेत गरेका थिए ।
नेपाली काँग्रेस वडा नं. ४ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोइरालाले नोना स्मृति भवनको शिलान्यास समेत गरेका थिए । स्वर्गीय नोना  कोइराला नेता शेखर कोइरालाकी आमा हुन् । उनै नोना कोइरालाको सम्झनामा पार्टी कार्यालयको लागि भवन निर्माणको शिलान्यास गरिएको थियो । भवन निर्माणका लागि १ कट्टा जमिन तल्लो जम्मटोकिमा वडा सभापति नुतन धामीले प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, लक्ष्मी खतिवडा, प्रदेश १ महामन्त्री उमेश थापा, जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महिला सङ्घ सुनसरी सभापति विजया कटुवाल, वराहक्षेत्र उपसभापति जितबहादुर कार्की लगायतका नेताहरूले नेपाली काँग्रेस ठुलो दल भए पनि प्रतिपक्षमा बस्नु परेकोमा दुःख व्यक्त गरेका थिए ।