• रश्मि प्रधान
धरान : वरिष्ठ गायक दीप श्रेष्ठ र युवा कवि सुदिप पाख्रिनलाई बेलायत स्थित नेपाली प्रतिभा प्रतिष्ठानले धरानमा आज शनिवार नगद पुरस्कार सहित सम्मान गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति प्रसिद्ध साहित्यकार वैरागी काइँलाको नागरिक अभिनन्दन समारोहका बिच श्रष्टाद्वयलाई पुरस्कृत गरिएको हो ।
समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वरिष्ठ गायक श्रेष्ठलाई सङ्गीत प्रतिभा सम्मान पत्र सहित ५० हजार रुपया नगद प्रदान गरेका हुन । युवा कवि सुदिप पाख्रिनलाई प्रतिभा पुरस्कार स्वरूप १ लाख रुपया सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यसअघि गीतकार शिवशङ्कर थापाले गायक दीप श्रेष्ठ स्वाभिमानी सर्जक र स्वरका धनी गायक भएको बताए । सत्तरी नाघेको गायक अहिले पनि सङ्गीत साधनामा उत्तिकै सक्रिय रहेको बताउँदै उनले भने ‘कहिले सम्म गीत गाउँछौ भनी सोध्दा अस्सी वर्ष सम्म त गाउँछु भन्ने गरेका छन् ।’
गायक श्रेष्ठका समकालीन मित्र थापाले गायक श्रेष्ठको सङ्घर्षका दिनहरूको स्मरण गर्दै २०२६ साल देखी गायन क्षेत्रमा लागेको श्रेष्ठले २०३० सालमा एक सङ्गीत प्रतियोगितामा स्वर्ण पदक हासिल गरेपछि पछाडि फर्कनु नपरेको बताए । तिसको दशकमा लोकप्रिय उनको गीतहरू अहिले पनि कालजयी रहको थापाले उल्लेख गरे ।
वरिष्ठ कवि बम देवानले युवा कवि सुदिप पाख्रिनको बारेमा चर्चा गर्दै सुदिप पछिल्लो पुस्ताका कविहरूका अगुवा भएको बताए । फरक धार, फर दृष्टिले कवितालाई हेर्ने पुस्ताका कविहरूको जमात बढ्दै गएको बताउँदै सुदिपको पुस्ताले नेपाली कवितालाई नयाँ मोडमा ल्याउन अभियानमा रहेको उल्लेख गरे ।
प्रतिभा प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा भएको समारोहमा उपाध्यक्ष र्टक वनेमले स्वागत भाषण गर्दै नेपाली साहित्यको विकास र उन्नतिमा भाषिक विभेदले अवरोधको काम गरेको बताए । मौलिक साहित्य सिर्जनाका लागि मातृभाषाको विकासले महत्त्वपूर्ण योगदान गर्ने उनको भनाई छ । समारोह प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले सञ्चालन गरेका थिए ।
sudip-pakhrin-samman