धरान : साता दिन देखी धरानमा खानेपानीको हाहाकारका कुराले सामाजिक सञ्जाल भरिएको थियो । मेयर हर्क साम्पाङ खानेपानीकै लागि ढुङ्गा र पाइप बोकाउँदै अभियान चलाई रहेका बेला फेसबुकमा फैलिएको पानीकै हाहाकारको कुरा अप्रिय लाग्नु अस्वाभाविक होइन ।
खानेपानी बोर्डको अध्यक्ष पनि मेयरनै भएकाले उपमहानगरपालिका तथा खानेपानी बोर्डबाट हाहाकारको कारणका बारे यथार्थ जानकारी सहित वैकल्पिक उपायका बारेमा विज्ञप्ति आउने अनुमान गरिएको थियो । तर त्यसबारे मेयर साम्पाङको फेसबुक स्ट्याटस पनि देखिएन ।
यसै बिच इटहरीका नेकपा एमाले सम्बद्ध युवा सङ्घले पानीपियामा रहेको धरानको सीमा लेखिएको बोर्ड उखेलेर फालेको कुरा फेसबुकमा फैलियो । मेयर साम्पाङले तत्काल धरानको साइन बोर्ड राखेको कुरा लगत्तै सञ्जालमा भाइरल भयो ।
उनले बोर्ड मात्र राखेनन् फेसबुकमा स्ट्याटस लेखेर धरानको युवा सङ्घलाई झकझक्याए । लगत्तै युवा सङ्घले वक्तव्य जारी गर्दै सिमानाका कुरा नक्साले स्पष्ट गर्ने भएकाले दुवै उपमहानगरपालिकाले वार्ताबाट यसलाई टुङ्ग्याउन सकिने धारणा सार्वजनिक गर्‍यो ।
यसैबिच सामाजिक सञ्जालमा फैलिएको खानेपानीको हाहाकारको कुरालाई सिमानाका कुराले ओझेलमा पार्‍यो। फेसबुकमा यसै कुराको चर्चा चलिरहेको बेला उपमहानगरपालिकाका पूर्व मेयरहरू र कार्यरत कर्मचारीहरूको सम्पत्ति छानबिनको माग गर्दै आज जुलुस प्रदर्शन भयो ।
मेयर हर्क साम्पाङको ग्रिन-टी पिउने ठाउँबाट सुरु भएको जुलुस नगर परिक्रमा गर्दै उपमहानगरपालिकामा पुगेर मेयरलाई सम्पत्ति छानबिनको ज्ञापनपत्र बुझाएको छ । यसै बिच मेयर साम्पाङको सक्रियतामा भएको खानेपानी अभियानको सहयोगार्थ आयोजित कन्सर्टको आयव्ययको हिसाब किताब सार्वजनिक गरिएको पनि फेसबुकमा भाइरल भइरहेको छ ।
यसैबिच धरानका ६ दलीय प्रतिनिधि मण्डल सहित उपमहानगरपालिकाका अगुवा वडा अध्यक्षहरू विकासका एजेण्डा लिएर काठमाडौँ हिँडेको खबर पनि सामाजिक सञ्जालमा लाइक र कमेन्टको विषय बनिरहेको छ । धेरै गतिविधिहरू भइरहेका छन् तर, आ-आफ्नै तरिकाले भइरहेका छन् ।
सामाजिक सञ्जालमा चलिरहेको वादविवादका बिच जुलुस र्‍याली प्रदर्शन देखी हिसाब किताब सम्मका छिटो छिटो अघि बढेका विषयहरूले धरानमा के हुन गइरहेको छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । यी कुराहरू यसअघि मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूका बिच कार्यपालिका बैठक स्थगितको विवादकै कारण उठेका हुन भन्ने पनि सामाजिक सञ्जालबाटै बुझ्न सकिन्छ ।
धरानको विकास र समृद्धिका लागि जिम्मेदारी दिएर धरानवासीले मेयर, उपमेयर देखी जनप्रतिनिधिहरू निर्वाचित गरी उपमहानगरपालिकामा पठाएका हुन । उनीहरू बिच समझदारीको अभावले नयाँ नयाँ विवादका विषय उत्पन्न हुँदै जानुलाई अराजकता बढेको भन्दा अतिशयोक्ति नहोला ।
‘कपुरी न्युज’ले यसअघि सम्पादकीयमा पनि भनेको थियो 'मेयर साम्पाङ र वडाध्यक्षहरूको विवादलाई प्रतिष्ठाको विवाद बनाउनु हुँदैन । त्यसो भयो भने कसैको हित हुन्न । विचार, सिद्धान्तले फरक फरक रहेता पनि सहमति, सहकार्यबाट धरानको विकास, निर्माण र विवादलाई निकास दिइनु पर्दछ । यो दायित्व स्थानिय सरकारको नेतृत्वकर्ता मेयर हर्क साम्पाङ भएकाले उनकै काँधमा छ ।'