- अनुसा थापा
जो मान्छे लक्ष्य लिएर हिँडेको हुन्छ, ऊ ढिलो भए पनि आफ्नो गन्तव्यमा पुग्छ । लक्ष्य पूरा गर्नका लागि उसले अनगिन्ती हण्डर ठक्कर खाएको हुन्छ । गन्तव्यमा पुगिसकेपछि उसले आफ्नो लक्ष्यलाई कसरी कार्यान्वयन गर्छ ? भन्ने कुराले धेरै प्रभाव पार्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्ट्राचार हटाउँछु र भ्रष्टहरूलाई कानुनको दायरामा ल्याउँछु भनेर जनयुद्धका बेला घोषणा गरेका थिए । १० वर्ष जनयुद्ध गर्दा १७ हजार नेपाली सहिद बनेका छन् । प्रचण्डले हिजो के गरे–गरेनन्, त्यो एउटा पाटो हो ।
तर, अहिले उनले भ्रष्ट्राचारको फाइल खोल्न थालेका छन् । यसमा उनले सफलता हासिल गरे भने मात्र जनयुद्धको अर्थ रहन्छ । १७ हजार सहिदको सपना पूरा हुन्छ । भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ व्यक्तिहरूको नाम जोडिएको छ । प्रचण्डले तिनलाई कानुनको कठघरामा उभ्याएरै छाड्छन् कि आफैँ पछि हट्छन् ? केही समयमा थाहा भइहाल्छ । आफ्नै पार्टीको भए पनि गलत गर्ने नउम्किउन् भन्ने माग जनताको छ । भ्रष्ट्राचार गर्नु ‘अपराध’ हो ।
त्यसमाथि पनि नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउनु ‘महाअपराध’ हो । यी कार्यमा जोडिएका हरेकमाथि छानबिन हुनुपर्छ । गैर कानुनी काम गरेर कमाएको तिनका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ । उच्च ओहोदाकै भए पनि ऐन कानुन मिच्ने हक कसैलाई छैन । चाहे त्यो सांसद, मन्त्री वा तिनका सन्तान हुन् सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ । यो काण्ड मात्र होइन, अन्य काण्डको फाइल पनि धमाधम खोल्नुपर्छ । भक्तपुरका पूर्व सांसद महेश बस्नेतले उद्योगमन्त्री हुँदा इँट्टा भट्टाबाट करोडौँ रुपैयाँ खाएको चर्चा अहिले पनि चलिरहेको छ ।
इट्टा भट्टाले प्रदूषण गरेपछि सरकारले उपत्यकाबाट हटाउने निर्णय गरेको थियो । तर, बस्नेतले आर्थिक चलखेल गरेर भट्टा उपत्यकामै सञ्चालन गर्न दिने निर्णय गराए । अहिले पनि उपत्यका भित्रै सञ्चालन भइरहेको छ । जसले गर्दा प्रदूषण ह्वात्तै बढेको छ । सर्वसाधारणलाई श्वास प्रश्वासमा समेत गाह्रो हुने गरेको छ । यता, उनले रोकिएको मदिराको लाइसेन्स खोलेर पनि राम्रै आम्दानी गरे । सरकारी, सार्वजनिक र गुठीको जग्गा हिनामिना गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ ।
भक्तपुर बासीहरू उनले धेरै ठाउँका सरकारी जग्गा हिनामिना गरेको बताउँछन् । त्यस्तै, भक्तपुरमा जग्गा प्लाटिङ गर्ने पनि उनी नै हुन् । जग्गा प्लानिङमा उनको थुप्रै लगानी छ । होटेल, स्कुल लगायत अन्य क्षेत्रमा पनि उनको लगानी धेरै छ । २०५४ सालमा गुण्डु गाविसको वडाध्यक्ष हुँदा पनि उनले धेरै भ्रष्ट्राचार गरेको भक्तपुरबासीहरुको आरोप छ । २०५० सालअघिको बस्नेत र अहिलेको बस्नेतलाई देख्दा अधिकांश आश्चर्यचकित हुन्छन् । उनको सम्पत्ति छानबिन हुनुपर्ने माग भक्तपुरवासीहरूले गर्दै आएका छन् ।
त्यस्तै, नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सम्पत्ति पनि छानबिन गर्नुपर्छ । २०६४ सालमा मनोनीत सांसद बनेका थापा त्यसअघि काँग्रेसको विद्यार्थी सङ्घको अध्यक्ष थिए । उनले त्यति बेला पनि हप्ता उठाउँथे । सांसद हुँदाखेरि बजेटको पैसा हिनामिना गर्नेमा उनको नाम पनि जोडिन्छ । २०७३ सालमा स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमाको नाममा उनले भ्रष्ट्राचार गरेको बताइन्छ । उनको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । भ्रष्ट्राचार गरेको सम्पत्ति राष्ट्रियकरण र भ्रष्ट्राचार गर्ने जेलमा हाल्नुपर्छ ।
चर्चित टेलिभिजन प्रस्तोताबाट राजनीतिमा पाइला टेकेका रवि लामिछानेको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । टेलिभिजनमा हुँदा उनले व्यापारी र नेताहरूलाई धम्काएर अंकुत सम्पत्ति जोडेका छन् । आफ्नो गलत काम लुकाउन राजनीतिमा प्रवेश गरेका उनलाई छोड्नुहुँदैन । एमाले अध्यक्ष केपी ओलीलाई पनि कानुनको कठघरामा उभ्याउन आवश्यक देखिएको छ । उनले भ्रष्ट्राचार गरेको रकम विदेशी बैङ्कमा लगेर राखेको आम नागरिकहरूको भनाइ छ । त्यसैले उनको सम्पत्ति पनि छानबिन गर्नुपर्छ ।
यता, राप्रपाका कमल थापा, प्रकाशचन्द लोहनी, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीको पनि सम्पत्तिमा सरकारको नजर पर्न जरुरी छ । ‘भ्रष्ट्राचार गर्नु आमाको रगत पिउनुसरह हो’ भन्ने यिनीहरुले भ्रष्ट्राचार गरेरै अंकुत सम्पत्ति जोडेका छन् । कोही मन्त्री बनेर त कोही अभियन्ता बनेर देश लुटिरहेका छन् । एकीकृत समाजवादीबाट सहरी विकास मन्त्री बनिसकेकी रामकुमारी झाँक्रीको सम्पत्ति पनि खोजतलास गरिनुपर्छ । विरोध खतिवडाको सम्पत्ति पनि छानबिन होस् ।
शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, पुष्पकमल दाहाल, खिलराज रेग्मीलगायत अन्य नेताको पनि सम्पत्ति छानबिन हुनुपर्छ । चित्रबहादुर केसीको पनि सम्पत्ति छानबिन होस् । किन कि उनको पनि देखाउने र चपाउने दाँत छुट्टाछुट्टै हुनसक्छ । भ्रष्ट्राचारी खोतल्दै जाने हो भने धेरैको नाम बाहिर आउँछ । पदमा पुगेका हरेकले भ्रष्ट्राचार गरेका छन् । कोही भ्रष्ट्राचार गर्नका लागि राजनीतिमा आएका छन् त कोही लुकाउनका लागि ।
पहिले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ । तिनको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । त्यसपछि पालो आउँछ, सरकारी कर्मचारीको । सरकारी कर्मचारीहरू एक नम्बरका घुसखोरी छन् । पियनदेखि मुख्यसचिवसम्म भ्रष्ट्राचारी छन्, यहाँ । नेपाल प्रहरीदेखि लिएर नेपाली सेना र सशस्त्रको सम्पत्ति छानबिन गर्नुपर्छ । भ्रष्ट्राचार गर्ने सिपाही होस् या हाकिम कसैलाई छोड्नुहुँदैन । यिनलाई कानुनको दायरामा ल्याएपछि उद्योग व्यवसायी र निर्माण व्यवसायीको सम्पत्ति छानबिन गरिनुपर्छ ।
राज्यलाई कर छलेर, उपभोक्ता ठगेर कमाएको व्यवसायीहरूको सम्पत्ति पनि खोजतलास गर्नुपर्छ । जनताले आफ्नो नेता हो भनेर भ्रष्ट्राचारीलाई समर्थन गर्नुहुँदैन । पार्टीले आफ्नो कार्यकर्ता हो भनेर यिनीहरूलाई छोड्नुहुन्न । सरकारले वडाध्यक्ष र मेयरलाई पनि बाँकी छोड्नुहुँदैन । भूपू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, कर्मचारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ । गलत तरिकाले पैसा कमाउनेहरू उम्किनुहुँदैन । भ्रष्ट्राचारको दलदलमा मुलुक फसिसकेको छ । भ्रष्ट्राचारका कारण नेपाल खोक्रो बन्न पुगेको छ ।
देश कङ्गाल बनेको छ भने व्यक्तिहरू मालामाल भएका छन् । अब सरकारले विदेशी ऋण लिने होइन, भ्रष्ट्राचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सरकारी खर्च चलाउनुपर्छ । २०४६ साल अघि र पछिका नेता र कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । सरकारले तिनीहरूले भ्रष्ट्राचार गरेको सम्पत्ति छानबिन गर्न सक्यो भने यहाँ पैसाको खोलो लाग्छ । देश बच्यो भने मात्र जनता रहन्छन् । त्यसैले नेता होइन मुलुकको अनुहार हेर्यौं । आफ्नै घरपरिवारले गलत गरे त प्रतिरोध गर्नुपर्छ भने यो त राष्ट्रको मामिला हो ।
पार्टीको झोले होइन, नेपाली नागरिक भएर सोचौँ । भ्रष्ट्राचारीहरूकै कारणले मुलुक तहसनहस बनेको कसैले पनि बिर्सिनुहुँदैन । जनताले तिरेको करले नपुगेपछि यिनीहरुले विदेशीसङ ऋण लिएर भ्रष्ट्राचार गरे । खाने यिनीहरू अनि ऋणको भारी बोकिदिनु पर्नेचाहिँ जनता । आज एउटा नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण पुगिसकेको छ । विदेशी ऋण लिएको पैसामा जनताले त मोज मस्ती गरेका थिएनन् । अनि उनीहरू किन ऋणको भारी बोक्ने ?
सरकारले विदेशी ऋण तिर्न सकेनन् भने नेपाल बाँकी रहदैन् । विदेशीले कालोसूचीमा पनि हालिदिन सक्छ । विदेशी ऋण बढेको बढ्यै छ । तर, कसरी खर्च भयो ? जनता बेखबर छन् । अझै पनि जनता मौन रहने हो भने यसबाट ठुलै क्षति निम्तिन सक्छ । खाने सरकारी कर्मचारी र नेता, तिर्ने बेला जनता पर्न सक्छन् । त्यसैले बेलैमा सचेत बनौँ । सबै तहसनहस भएपछि टाउको हात राखेर के काम ? श्रीलङ्का, पाकिस्तानलगायतका मुलुकको अवस्था किन बिग्रियो ?
यसको प्रमुख कारण भ्रष्ट्राचार हो । त्यसैले भ्रष्ट्राचारको विरोधमा बोलौँ, भ्रष्ट्राचार गर्नेलाई नछोडौँ । जनताहरू अब हात बाँधेर बस्नुहुँदैन । मुलुकको अस्तित्व जोगाउन, भ्रष्ट्राचार हटाउन टोलटोल, जिल्ला जिल्लाबाट जनता सडकमा ओइरिनुपर्छ । प्रधानमन्त्री प्रचण्डले आफूले गरेको भ्रष्ट्राचार राष्ट्रियकरण गर्नुपर्छ । अरूले भ्रष्ट्राचार गरेको पैसा पनि राष्ट्रियकरण गर्न सक्नुपर्यो । अनि मात्र जनयुद्धको उपलब्धि हात लाग्ला । अब पनि नेताहरू नसुध्रिने हो भने देश र जनताले ठुलै क्षति भोग्नुपर्छ ।
भक्तपुर