धरान : सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट धरान वडा-५ देउराली स्थित हिमाली माविको नयाँ भवन बन्ने भएको छ । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाकोले मङ्गलवार भवनको शिलान्यास गरेका छन् ।

योजना अनुसार विद्यालयको नयाँ भवन ४ कोठाको निर्माण हुने भएको हो । भवनको कुल लागत ६५ लाख रुपैयाँ रहेको छ । उक्त बजेट धरान उपमहानगरपालिका मार्फत कार्यान्वयन हुने भएको हो ।

उपमहानगरपालिकाले ईटेन्डर मार्फत ६५ लाख रुपैयाँमा भवन निर्माण ठेक्कामा लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक घिसिङले बताए ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथी उपमेयर बेघाले सङ्घीय सरकारको लगानीमा भवन निर्माण भएपछि विद्यालय, विद्यार्थी राष्ट्र र राष्ट्रको भविष्यसंग जोडिएको बताए ।

उनले भवन निर्माण सरकारी काम जस्तै कच्चा हुने आरोप आउन सक्ने भएकाले स्थानीय सरकारको रेखदेखमा भवन निर्माण हुन लागेको बताउँदै यस्मा स्थानिय समुदाय, अभिभावकहरूको निगरानी पनि जरुरी हुने उल्लेख गरे ।

सामुदायीक विद्यालयलाई सुबिधा सम्पन्न बनाउन सके संस्थागत स्कुल भन्दा गुणस्तरिय शिक्षा दिने पूर्वाधार तयार हुने उपमेयर बेघाको भनाई थियो ।

व्यवस्थापन समितिका अध्यक्ष घिसिङले समितिमा भइञ्जाल विद्यालय र विद्यार्थीहरुको हक हितका लागि प्रतिबद्ध रहेको बताउँदै भवन निर्माण तोकिएको अवधिमा गुणस्तरीय बनाउन खट्ने बताए ।

विद्यालयमा अधिकांश सुकुम्बासी क्षेत्रका विद्यार्थी पढ्न आउने भएकाले विद्यार्थीको चाप अत्याधिक रहेको प्रधानाध्यापक यम कुमार खत्रीले बताए । उनले शैक्षिक गुणस्तर उच्च भएकोले विद्यालयमा निजी स्कुल छोडेर आउने विद्यार्थीको सङ्ख्या बढेको बताए ।

९ सयको सङ्ख्यामा विद्यार्थी रहेको उक्त विद्यालयमा सरकारी दरबन्दी अनुसार ११ जना शिक्षक छन् । बाल कक्षा देखि १० सम्म २३ वटा कक्षा सञ्चालन गरिहेको विद्यालयले निजी श्रोतबाट १४ जना शिक्षक थप्नु परेको छ ।

शिक्षक कर्मचारी ३१ जनाको आर्थिकभार बोक्नु परेकाले सरकारी दरबन्दी थप गर्न जरुरी भएको प्रधानाध्यापक खत्रीले ध्यानाकर्षण गराए । विद्यालयमा खेलकुदका पूर्वाधार पर्याप्त नभएकाले खेलकुद ग्राम निर्माणका लागि स्थानीय सरकार मेयर र उपमेयर कोषबाट सहयोग गर्न आग्रह गरिएको छ ।

शिलान्यास कार्यक्रममा धरान-५ का वडाध्यक्ष मोहनप्रसाद राई, शिक्षक अभिभावक सघका अध्यक्ष लगायत व्यवस्थापन समितिका सदस्य, अभिभावकहरूको उपस्थिति थियो ।

nirman