धरान : कोशी प्रदेश नामकरण गरिएपछि पहिलो पटक आव्हान गरिएको प्रदेश सभाको बजेट अधिवेशनको अवसरलाई कोशी नाम खारेजी, पुनः नामकरण आन्दोलनकारीहरूले सङ्घर्षको निर्णायक चरणको रूपमा लिएका छन् ।

प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गते आइतबार आव्हान गरिएको छ । यसै बेला प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले १४ वटै जिल्लाका सङ्घर्ष समितिहरू सोही दिन देखी विराटनगरमै धर्ना कसेर प्रदेश सभा घेराउ गर्दै सडकमा उत्रन आव्हान गरेको छ ।

सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने ‘जिल्लाहरूमा सम्पर्क पनि गरिरहेका छौँ, व्यापक तयारी भइरहेको छ ।’ सङ्घर्ष समितिले वक्तव्य जारी गरिसकेको छ, त्यसैलाई आधार मानेर पनि प्रदेशका चौधै जिल्लाबाट आन्दोलकारीहरु विराटनगरको सडकमा उत्रिन आउने आव्हान गरिएको उनले बताए ।

यसअघि कोशी प्रदेश नाम घोषणा लगत्तै प्रदेश सभा स्थगित गरिएको थियो । तत्काल आन्दोलनकारी सडकमा उत्रिएका थिए । उनीहरूले मुख्यमन्त्री तथा प्रदेश मन्त्री परिषद्को कार्यालय तर्फ केन्द्रित भएर पटक पटक वृहत् प्रदर्शन गरेका थिए । यसै क्रममा प्रहरीसँगको झडप हुँदा पदम कुमार लिम्बु ‘लाजेहाङ’ सहिद भएका हुन् ।

त्यसपछिका आन्दोलनमा आन्दोलनकारीहरूले ८२ जना प्रदेश सभाका सांसदहरूलाई तारो बनाएको थिए । यसपालि प्रदेश सभा अधिवेशनमा सहभागी हुन सांसदहरू विराटनगर स्थित प्रदेश सभामा एकै ठाउँ हुनेछन् । त्यस कारण आन्दोलन पनि प्रदेश सभा भवनमा केन्द्रित हुने भएको छ ।

संयुक्त सङ्घर्ष समितिले वक्तव्यमा भनेको छ ‘मुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा झन् चर्काउनतिर उद्धत देखिएका छन् । मुख्यमन्त्री कार्कीले दिँदै आएको एकपछि अर्को च्यालेन्जलाई स्विकार्दै संयुक्त सङ्घर्ष समितिले प्रदेशको केन्द्र विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ ।’

वक्तव्यमा भनिएको छ, विराटनगरमा चैत्र ५ गते प्रहरी सँगको झडपमा पदम कुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेका छन् । वैशाख २६ गते झापा दमकमा प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते गजेन्द्र फागो काठमाडौँमा उपचाररत छन् । प्रहरीको दमनबाट १५० भन्दा बढी घाइते छन् भने १५ बढी मुद्दा खेपिरहेका छन् । केही पुर्पक्षमा जेलमा छन् ।

प्रदेश नं. १ को पहिचान मेटाउने, प्रदेशवासीको भावना विरुद्ध प्रहार भएपछि गाउँ गाउँमा आक्रोश बढ्दो छ । मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुङ्गाबाट, पूर्व मन्त्री इन्द्र आङ्बो लिम्बूलाई ताप्लेजुङबाट, प्रदेश सभा सदस्यहरू राम राना मगरलाई इलामबाट, पीके राईलाई खोटाङबाट आक्रोशित जनताबाट लखेटिएको सबैमा विदितै छ ।

प्रदेशको नाम राख्न मुख्य निर्देशन दिने केपी ओलीलाई तेह्रथुम, पाँचथर, इलाम र झापाबाट कालो झन्डासहित जनताले विरोध प्रदर्शन सहित लखेटेको सबैलाई जानकारी छ । आन्दोलन यतिबेला कोशीको पक्षमा हस्ताक्षर दिने ८२ र केपी ओली विरुद्धका कार्यक्रम निरन्तर रहेको छ । र, यो आन्दोलन कुनै पार्टी र समुदायप्रति लक्षित नभएको पनि प्रस्ट पार्न चाहन्छौँ ।

pradesh-andalon-new-PR