धरान : कोशी प्रदेश नाम खारेजी, किरात पहिचान सहितको पूनः नामाकरणका लागि किरात राई सांस्कृतिक कलाकार संघले साङ्केतिक सांस्कृतिक विद्रोहको रूपमा धरानमा छैटौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
कोशी प्रदेशको प्रदेश सभा बजेट अधिवेशनकै मुखमा पूनः नामाकरणको आन्दोलनलाई शसक्त बनाउन सांस्कृतिक कलाकारहरूको राष्ट्रिय सम्मेलन सांस्कृतिक विद्रोहको रूपमा धरानमा आयोजना गर्न लागिएको हो ।
प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गते आव्हान गरिएको छ । त्यसको ठिक एक दिन अघि जेठ १३ देखी किरात राई कलाकार संघको राष्ट्रिय सम्मेलनमा धरानमा आयोजना गरिने भएको हो । सम्मेलन जेठ १५ गते सम्म चल्नेछ ।
सम्मेलनका बारेमा जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा किरात संस्कृतिका अध्येता संघका उपाध्यक्ष शाालिक शतासक राईले भने ‘किरात पहिचान सहितको प्रदेश नामकरणको लागि हामी शिरमा कफन बाँधेर सांस्कृतिक साङ्केतिक विद्रोहमा उत्रिने तयारीमा छौँ ।’
उनका अनुसार हजारौँको सङ्ख्यामा किरात कला, साहित्य, संस्कृति र संगीतकर्मीहरुद्वारा कोशी प्रदेश नाम खारेजीको नारा लिएर सडकमा प्रदर्शन गरिने छ । सम्मेलनको प्रचार प्रसारका रूपमा जेठ ११ देखी धरानका १४ र इटहरीका १० वटा चौकहरूमा सांस्कृतिक साङ्गीतिक सूचनामुलक सभाहरू गरिने छन् ।
धरानको भानुचौकमा उद्घाटन सत्रका रूपमा बृहत सांस्कृतिक सहभागीतामा सभा आयोजना गरिने छ । सम्मेलनको मुल नारा ‘किरात इतिहास संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ नम्बर प्रदेशको नामाङ्कन’ रहेको पत्रकार सम्मेलनमा जारी वक्तव्यमा उल्लेख छ ।
संघका अध्यक्ष रामकर राईका अनुसार सम्मेलनमा संघको १३ वटा जिल्ला समिति, १३ वटा किरात राई सम्बद्ध सांस्कृतिक संस्थाहरू, ७ विदेश स्थित शाखाहरूको बन्द सत्रमा सहभागिता हुनेछ । प्रतिनिधि मुलुक रूपमा कुल १२० जनाले छलफलमा प्रतिनिधित्व गर्नेछन् ।
बन्द सत्रमा ५ वटा कार्यपत्रमा भाषा संस्कृतिका बारेमा बहस हुनेछ । केन्द्रीय समितिको प्रतिवेदन, जिल्ला समितिका प्रतिवेदनहरूमा छलफल गरी धरान घोषणापत्र जारी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा जारी वक्तव्यमा भनिएको छ ‘किरात राई सांस्कृतिक कलाकार संघ किरात राई समुदायको भाषा, संस्कार, संस्कृति, मुन्दुम, गीत, संगीत, कला, साहित्य जस्ता सांस्कृतिक कुराहरूलाई संरक्षण, सम्बर्धन प्रवर्द्धन गर्न गठित सामाजिक सांस्कृतिक संस्था हो ।’
‘मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति।’ भन्ने मुल नाराका साथ २०६३ साल देखी नै संस्थाले निरन्तर रूपमा सांस्कृतिक अभियान अघि बढाउँदै सम्पूर्ण सांस्कृतिक राई कलाकर्मीहरूलाई संघमा गोलबद्ध गर्दै यी क्षेत्रको विकाशमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वक्तव्यमा उल्लेख छ ।