वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज र छरितो बनाउन बैङ्क तथा वित्तीय संस्था छलफल गरेको छ ।
आगामी आर्थिक बर्षबाट भत्तालाई सहज बनाउने एक बैङ्कबाट एउटा वडामा भत्ता वितरण गर्ने विषयमा बिहीबार बिहान  छलफल भएको हो ।
हाल वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा चतरा शाखाको मितेरी बैङ्क, वडा नं ३, ४ र ५ मा कालाबञ्जर शाखाको मितेरी बैङ्क, वडा नं ६, ७ र ८ मा चक्रघट्टि शाखाको सिटिजन्स बैङ्क, वडा नं ९ र १० मा प्रकाशपुर शाखाको मितेरी बैङ्क र वडा नं ११ मा लौकही शाखाको एनआईसि एसिया बैङ्कबाट भत्ता वितरण हुने गरेको छ ।
वराहक्षेत्र नगरपालिकामा जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक भत्ता (दलित), जेष्ठ नागरिक एकल महिला, बिधवा (आर्थिक सहायता), "क" वर्गको अपाङ्गता आर्थिक सहायता, "ख" वर्गको अपाङ्गता आर्थिक सहायता, दलित बालबालिकालाई गरेर ९ हजार ८ सय ४२ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने गरेका छन् ।
हाल सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैङ्कमा सेवाग्राहीहरूको चापको कारण असुविधा हुने गरेकाले एक बैङ्कबाट एक वडामा भत्ता वितरण गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।अशक्त, बुद्ध सेवाग्राहीहरूलाई घरमै पुगेर भत्ता वितरण र अन्य सेवाग्राहीहरूलाई सहज र छरितो बनाउन कार्यमा लागिपरेको प्रमुख कार्कीको भनाई छ ।
प्रभु बैङ्क चतरा र मितेरी विकास बैङ्क चतराबाट वडा नं १ र २, प्रभु बैङ्क कालाबञ्जर र मितेरी बैङ्क कालाबञ्जरबाट वडा नं ३, ४ र ५, सिटिजन बैङ्क चक्रघट्टी, प्राईभ बैङ्क चक्रघट्टी र माछापुच्छ्रे बैङ्क चक्रघट्टीबाट वडा नं ६, ७ र ८ र एनआईसी एसिया बैङ्क प्रकाशपुर र मितेरी विकास बैङ्क प्रकाशपुरबाट वडा नं ९ र १० त्यस्तै वडा नं ११ बाट छुटै अर्को बैङ्कबाट भत्ता वितरण गर्ने योजना बनाइएको छ ।