वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले खोला अतिक्रमण गरेर बनेका संरचना र सार्वजनिक स्थान अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सुरु गरेको छ । आइतबारबाट नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण र वडा नं.६ चक्रघट्टि स्थित बसपार्क क्षेत्र अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सुरु गरेको हो  ।

हैंटा खोला र बसपार्क अतिक्रमण हटाउने सम्बन्धमा नगरपालिकाले वैशाख ३ गते पहिलो पटक ३५ दिने सूचना जारी गरी गरेको थियो । सो अवधिमा अतिक्रमित क्षेत्र खाली नभएपछि गत जेठ ७ गते दोस्रो पटक र जेठ १६ गते तेस्रो पटक सूचना जारी गरेको थियो । तेस्रो पटक सूचना जारी गर्दा समेत अतिक्रमण गरेर बनेका संरचना हटाउन अटेर गरेपछि नगरपालिकाले आफै स्काभेटर प्रयोग गरेर संरचना हटाउन कार्य सुरु गरेको नगर प्रमुख रमेश कार्कीको भनाई छ ।

हैंटा खोलाको वहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको र नगरपालिकाले पहिलो चरणमा १६ फिट खोला कायम गरेर खोला भित्रमा संरचना हटाईएको नगर प्रमुख कार्कीले बताए । नगर प्रमुख कार्कीका अनुसार तत्काल वर्षा सुरु भएकाले कात्तिक पछाडि खोला भित्रका सम्पूर्ण संरचना हटाईने छ ।

खोलाभित्र घर, टहरा तथा बरन्डाहरूका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठूलो मात्रामा धनजनको क्षति पुगिरहेको र पटक-पटक सूचना प्रकाशित गरे पनि सो अतिक्रमित क्षेत्रमा कुनै संरचनाहरू नहटाइएकाले नगरपालिका आफै हटाउन बाध्य भएको हो । त्यस्तै चक्रघट्टि बसपार्क मिचेर बनेको टहरा समेत हटाउन थालिएको छ ।

हैंटा खोलालाई १६ फिट कायम गर्न सहमति भएको र कात्तिक पछाडि बाँकी खोला भित्रका संरचनाहरू हटाईने वडा नं.५ का अध्यक्ष रोहित काफ्लेले बताए ।

हैंटा खोला  सरसफाइ अभियानमालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की समेतले खोलाको सरसफाइ गरेका थिए । अभियानको सफल बनाउन  खोलाको क्षेत्र निकाल्ने र अतिक्रमित भूभाग खाली गराउने निर्णयमा वराहक्षेत्र नगरपालिका पुगेका थिए ।

JCB