इटहरी : कोशी प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारी सँग वार्ता गर्न समिति गठन गरेको छ । कोशी प्रदेश नामाकरणको विषयमा आन्दोलनमा उत्रिएका पहिचानवादीहरू सँग प्रदेश सरकारले वार्ता समिति बनाएको हो ।

प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समिति गठन भएको छ । सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य रहेको समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।

फाल्गुन १७ गते प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । कोशीले प्रदेशवासीको पहिचान समेट्न नसकेको भन्दै पहिचानवादीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा चैत १० गते एक व्यक्तिको मृत्यु समेत भयो ।

पहिचानको आन्दोलनलाई सम्बोधन नगरेको भन्दै जेठ १७ गते जसपाले सरकार छाडीसकेको छ । मंगलबार माओवादी केन्द्रले पनि सरकार छाडेपछि हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । मंगलबारको बैठक पछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।