वराहक्षेत्र : कार्यभार सम्हाले देखि नै अतिक्रमणमा परेका सार्वजनिक जग्गाको खोजी र खोला तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउने कार्यमा लागि परेका वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की हाल करिब ४० वर्षदेखि अतिक्रमणको चपेटामा परेको हैंटा खोलालाई अतिक्रमण मुक्त बनाउने अभियानमा लागेका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं.६ र ९ मा पर्ने श्रीलङ्का टप्पुमा रहेको हजारौँ बिगाहा ऐलानी जमिनको संरक्षण गर्न नगर प्रमुखले केही महिना अगाडि योजना बनाएका थिए । जमिनमा अतिक्रमण हुन थालेपछि नगरप्रमुख कार्कीले जमिन विद्यालय, मन्दिर लगायतका संस्थालाई उपभोग र संरक्षण गर्न जिम्मा दिने योजना अगाडि सारेका थिए ।

सार्वजनिक जमिनलाई स्थानिय सरकारको मातहतमा ल्याउने अभियान सुरु गरेका नगरप्रमुख कार्की हाल खोला अतिक्रमण गरेर बनेका संरचना हटाउने कार्यमा लागेका छन् । आइतबारबाट सुरु उक्त अभियानले हैंटा खोलालाई हाल १६ फिट कायम गरी अतिक्रमित संरचना हटाउने कार्य धमाधम चलिरहेको छ।

नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण गरेर बनेका संरचना हटाउन दुई वटा डोजर प्रयोग भइरहेको छ। हालसम्म खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका दर्जनौँ घर र घरका बरन्डाहरू त्यस्तै खोला भित्र परेमा रुख, बिरुवाहरू हटाइएको छ।

नगरपालिकाले संरचना हटाउन डोजर चलाउन थालेपछि केही घरधनीले आफै संरचना हटाउन सुरु गरेका छन् । हाल नगरपालिकाले कालाबञ्जर चौकबाट रेडक्रस भवन पछाडि हुँदै राँगा चौकबाट खुन टोलसम्म खोला सफा गर्दै १६ फिट भित्रका सबै संरचनालाई हटाउने नगर प्रमुख कार्कीले बताए।

तत्काल बर्षायाम सुरु हुने भएकाले हाल खोलालाई १६ फिट मात्र कायम गरिएको आगामी कात्तिक महिना पछाडि खोलाको नक्सा भित्र भनेका सम्पूर्ण संरचनाहरू हटाइने नगर प्रमुख कार्कीको भनाई छ।

नगरपालिकाले हैटा खोलासँगै वडा नं.६ चक्रपट्टि स्थित बसपार्क क्षेत्र अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन अभियान थालेको थियो ।

हैटा खोला र बस पार्क अतिक्रमण हटाउने सम्बन्धमा नगरपालिकाले वैशाख ३ गते पहिलो पटक ३५ दिने सूचना जारी गरी गरेको थियो । सो अवधिमा अतिक्रमित क्षेत्र खाली नभएपछि गत जेठ ७ गते दोस्रो पटक र जेठ १६ गते तेस्रो पटक सूचना जारी गरेको थियो।

तेस्रो पटक सूचना जारी गर्दा समेत अतिक्रमण गरेर बनेका संरचना हटाउन अटेर गरे पछि नगरपालिकाले आफै डोजर प्रयोग गरेर संरचना हटाउन कार्य सुरु गरेको वडा नं.५ का अध्यक्ष रोहित काफ्लेले बताए ।

हैटा खोलाको बहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको र नगरपालिकाले हटाउन उपलब्धिमूलक कार्य भएको स्थानिय चन्द्रबहादुर बस्नेतको भनाई छ।

४० वर्षदेखि खोलाभित्र घर, टहरा तथा बरन्डाहरूका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुगिरहेको यसको समाधान गर्न नगरले अतिक्रमण हटाउने राम्रो कार्य भएको स्थानिय पहलमान बस्नेत बताउँछन् ।

JCB

ramesh-karki-baraha