इटहरी : कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलनरत पक्ष र सरकार बिचको वार्ताले कुनै निष्कर्ष निकाल्न सकेन । ४ घण्टा लामो चलेको बैठकबाट सरकारले पहिचानवादी आन्दोलनकारीलाई सहमतिमा ल्याउन नसकेको हो । 

अर्को पटक छलफल गर्ने सहमति भएपछि विना निष्कर्ष वार्ता टुङ्गो लागेको हो । कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानवादीले आन्दोलन चर्काएका हुन् । सोही क्रममा १ जनाको मृत्यु भइसकेको छ । 

वार्ताको माध्यमबाट समस्या समाधान गर्ने गरी पहिलो चरणमा सहमति भएको र पुनः बैठक बसेर निष्कर्ष निकाल्ने प्रदेश सरकारको वार्ता टोलीका सदस्य भक्तिप्रसाद सिटौलाले बताए । आन्दोलनकारी र सरकार बिचको असमझदारी हटेको बताउँदै उनले अबको केही दिनमा वार्ता टुङ्गो लाग्ने जानकारी दिए । हिक्मत कार्की नेतृत्वको सरकारको मन्त्री समेत रहेका सिटौलाले मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि नै वार्ता निष्कर्षमा पुग्ने बाचा गरे । 

कोशी प्रदेशमा जनता समाजवादी पार्टी र माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएका छन् । जसपाले जेठ १७ गते सरकारको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।  संविधान अनुसार नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारले ३० दिन अर्थात् असार १५ भित्रमा विश्वासको मत लिनुपर्ने भएको छ ।