- अनुसा थापा
धरान : प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वसाधारणले दुइटा कुराको माग गर्छन्, ‘एउटा मदन भण्डारीको रहस्यमय मृत्यु खोताल्नुपर्यो, अर्को दरबार हत्याकाण्ड छानबिन गर्नुपर्यो ।’ यसका लागि प्रधानमन्त्री दाहालले तत्काल छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको माग छ । भण्डारीको निधनपछि नेकपा एमाले पटकपटक सरकारमा गयो । एमालेले धेरै पटक मुलुकको नेतृत्वको जिम्मा पनि सम्हाल्यो ।
एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री भए । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी आफै पनि राष्ट्रपति भइन् । तर, अहिलेसम्म हत्यारा पक्राउ परेन । जसका कारण प्रश्न एमालेमाथि नै तेर्सिएको छ । यो घटना अझै पनि रहस्यमय नै छ । एमाले बारम्बार सरकारमा त गयो तर, उक्त घटनामाथि छानबिन गर्न चासो देखाएनन् । न कुनै समिति नै गठन गरियो ।
उनका ड्राइभर अमर लामालाई पनि गोली हानेर मारियो । आफ्नो ज्यान असुरक्षित भएको बताउँदै आएका उनी २०६० साउन १२ गते डिल्लीबजारबाट अपहरणमा परे । उनलाई कीर्तिपुरमा लगेर गोली हानेर मारिएको हो । लामा मरेको यत्रो वर्ष बितिसकेको छ । तर, उनको मृत्युमाथिको पर्दा अहिलेसम्म पनि उठ्न सकेको छैन ।
लामालाई कसले मार्यो ? गम्भीर प्रश्न उठेको छ । माओवादीले मारेको थियो भने त्यसको जिम्मा लिनु पर्थ्यो । अन्यले मारेको थियो भने सरकारले अहिलेसम्म पक्राउ गरिसक्नु पर्थ्यो । तर, यो विषय गुमसुम पारियो । लामा एउटा प्रमाण थिए, त्यो पनि सिद्धाइयो । लामा मर्ने बित्तिकै भण्डारीका हत्याराहरू बचे । योजनाकारहरू बच्न सफल भए ।
२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको सन्तान नै सखाप पारियो । राजाको परिवार सकाउनेलाई सरकारले अहिलेसम्म बाहिर ल्याउन सकेको छैन । राजाजस्तो व्यक्तिको हत्यारालाई पक्राउ गर्न नसक्नुले मुलुकको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा भएको छ । सरकार र प्रहरी प्रशासन के हेरेर बसेको छ ? यो सानो घटना थिएन । राजाको वंश नै मासियो । दरबारजस्तो सुरक्षाले घेरिएको ठाउँमा यत्रो घटना घट्यो ।
यो पूरै योजनाका साथ गरिएको हत्या हो भन्ने त स्पष्ट छ । तैपनि सरकारले अपराधी खोज्न सकेको छैन । प्रहरी प्रशासन मुलुकमा घटेको यति ठुलो घटनामा समेत हात बाँधेर बसेको छ । देशले असल नेतृत्व गुमायो । मुलुकलाई ठुलो घाटा भयो । विडम्बना, सरकारले उनीहरूका हत्यारालाई कानुनको कठघरामा उभ्याउन सकेन । नेपाल प्रहरी समेत यी घटनालाई टुङ्गोमा पुर्याउन असफल रह्यो ।
जसले गर्दा प्रहरी प्रशासनको क्षमतामाथि नै प्रश्न उठेको छ । बाटो हिँडिरहेका निर्दोष व्यक्तिलाई झ्यापझुप समातेर थुन्ने प्रहरीले दोषीलाई किन कारबाही गर्न सकेन ? यहाँ पनि ‘सानालाई ऐन, ठुलालाई चैन’ भएको छ । गल्ती नै नगरेका व्यक्तिहरूले प्रहरीका कारण जेलजीवन बिताइरहेका छन् । तर, दोषी भने निस्फिक्री घुमिरहेका छन् । भुरादेखि बुढासम्मले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा सार्वजनिक गर्न माग गरिरहेका छन् ।
सरकारले अहिले ठूल्ठूला अपराधमा छानबिन गरिरहेको छ । यही मौकामा सरकारले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा खोज्नुपर्छ । उनीहरूलाई लुकाउन पाइँदैन । प्रहरी प्रशासनले फरार अभियुक्तलाई पक्राउ गरेको भनी दिनहुँ सार्वजनिक गरिरहेको हुन्छ । वर्षौँदेखि फरार रहेकालाई पक्राउ गर्यौ भनेर प्रहरी आफैँमाथि गर्व गर्छ । तर, राजदरबारमा भएको हत्या किन खोतल्न सकेन ?
राजदरबारमा एक जनाको होइन, पूरै परिवारको हत्या भएको छ । प्रहरीले अहिलेसम्म अभियुक्तलाई किन सार्वजनिक गर्न सकेन ? किन कि प्रहरी आफै पनि यो घटना खोतल्न चाहँदैन । राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारालाई पक्राउ गर्नुपर्छ भनेर जनताले पटकपटक माग राख्दा पनि कतैबाट सुनुवाइ हुन सकेको छैन । सदनमा कुनै पनि राजनीतिक दलका सांसदहरूले यस विषयमा आवाज उठाएका छैनन् ।
एमालेका सांसदहरू पनि यसबारे मौन छन्, किन ? एमालेलाई जनता माझ भिजाउन ठुलो भूमिका खेलेका आफ्ना नेता भण्डारीलाई मार्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर कोही बोलेका छैनन् । सत्ताका लागि मात्रै लडिरहेको हुन्छ एमाले । बिना काम सदन अवरोध मात्र गर्छन् । राप्रपाका नेतासमेत यस विषयमा चुपचाप नै छन् । सबै जना मिलेर घटना ढाकछोप गरिरहेका छन् भन्ने त स्पष्ट छ ।
राजाजस्तो व्यक्तिले त न्याय पाउँदैन भने जनताले के न्यायको अनुभूति गर्न पाउँछन् ? देशको शान्ति सुरक्षाको अवस्था के छ ? यो पनि प्रमाणित भयो । प्रहरी प्रशासनलाई जनताको प्रश्न,‘जहिले सानाले मात्रै सजाय भोग्नुपर्ने हो ?’ ठुलाले जे गरे पनि हुने, कस्तो चलन हो यो ? उनीहरूले भ्रष्टाचार गरुन् या मान्छे मारुन्, कानुन लाग्दैन । कि उनीहरूलाई थुन्ने जेल छैन ।
राजा वीरेन्द्र र नेता भण्डारीको हत्याकाण्डमा सरकारले छानबिन समिति नै गठन गरेको छैन । कारण के हो ? यसको जवाफ सरकारले दिनुपर्छ । सर्वसाधारण मर्दा समेत चासोका साथ हेरिन्छ । उनीहरू त जनताको राजा, जनताको नेता । तैपनि घटना लुकाइछिपाई गरिरहेका छन् । प्रधानमन्त्री दाहालले राजा वीरेन्द्र र नेता भण्डारीका हत्यारालाई तत्काल समात्नुपर्छ ।
तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । देशमा यो व्यवस्था ल्याउनुको उद्देश्य के हो ? यो कुरा प्रधानमन्त्री दाहालले बिर्सिएजस्तो छ । उनले जनयुद्ध सुरु गरेपछि १७ हजार नेपालीले ज्यान गुमाए । तर, उपलब्धि के हात लाग्यो ? अपराधीलाई छोड्दिन, देशको विकास गर्छु, विदेशी हस्तक्षेप हुन दिन्न, जनताको शासक होइन, सेवक बन्छु भनेर उनले हिजो हतियार उठाएका थिए ।
उनी तीन पटक मुलुकको प्रधानमन्त्री भए । तर, जनताले परिवर्तनको महसुस गर्न पाएनन् । बरु, उनको जिन्दगीमा चाहिँ धेरै परिवर्तन भयो । हिजो दाउरा सुरुवालको विरोध गर्ने उनी आज आफैँ दाउरा सुरुवाल लगाउँछन् । उनका पार्टीका नेता नै ठूल्ठूला अपराधमा मुछिएका छन् । दाउरा सुरुवाल लगाउनका लागि त १७ हजार नेपाली मार्नुपर्दैनथ्यो होला ? त्यति बेला राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो ।
तर, नेपाली सेना नै चुपचाप बसेको छ । यसले त सबैले मिलेमतो देखाएको छ । यहाँ त ‘तै चुप, मै चुप’ भइरहेको छ । राजा वीरेन्द्र र नेता भण्डारीका लागि जनताले नै सरकारलाई दबाब दिनुपर्ने देखिएको छ । मारिएको व्यक्ति मरेको मर्यै हुन्छन्, उनीहरूले न्याय पाउने रहेनछन् भन्ने त प्रमाणित भइसकेको छ । जनताले उठाएको प्रश्नको जवाफ सरकारले दिनै पर्छ ।
होइन भने प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ । सरकारमाथि जनताले लगाएको आरोप सरकारले काम गरेर मेटाउन सक्नुपर्छ । २०५० सालपछि गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, खिलराज रेग्मी लगायत थुप्रै प्रधानमन्त्री आए र गए ।
तर, राजा वीरेन्द्र र नेता भण्डारीको हत्यालाई किन समातिएन ? यसको जवाफ उल्लेखित सबैले दिनुपर्छ । सबै मिलेर घटनालाई झिसमिस बनाउने काम भएको छ । राजा वीरेन्द्रको हत्यापछि उनकै भाइ ज्ञानेन्द्र राजा भए । भण्डारीको मृत्युपछि उनकै श्रीमती विद्यादेवी भण्डारी पटकपटक मन्त्री भइन् । राष्ट्र प्रमुख भएर समेत काम गर्ने मौका पाइन् । यद्यपि, उनले नै छानबिनमा चासो देखाइनन् ।
राजा वीरेन्द्र जनताले रुचाएका राजा थिए । नेता भण्डारी त जननेताकै रूपमा चिनिन्छ । यस्ता व्यक्तिको हत्यारा खोज्न नसक्नुभन्दा लाजमर्दो विषय के होला ? अब सरकारले हत्यारालाई कानुनको दायरामा ल्याउनुपर्छ । जुनसुकै पार्टीको सांसद भए पनि यो कुरा उठाउनै पर्छ । राजा र नेता हुनुभन्दा अगाडि उनीहरू नेपाली नागरिक हुन् । नागरिकको हत्यारालाई सरकारले छोड्नुहुँदैन ।
नेपालीले आफ्नो राजा र नेताको हत्यारा खोजिरहेका छन् । उनीहरूको मनमा थुप्रै प्रश्न उठेको छ । सरकारले हत्यारालाई सार्वजनिक गर्नुपर्यो । तत्काल छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाउनुपर्यो । हत्यारा जोसुकै भए पनि छोड्नुभएन । प्रधानमन्त्री दाहालले राजा वीरेन्द्र र नेता भण्डारीको हत्यारा कहिले सार्वजनिक गर्ने ?