इटहरी : इटहरी उपमहानगरपालिकाको राजस्व वृद्धि गलत भएको भन्दै कर समायोजन गर्न नेकपा एमालेले माग गरेको छ । मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै एमाले उपमहानगर कमिटीले जनताको डाढ सेक्ने गरी बढाएको करलाई समायोजन हुनुपर्ने माग राखेको हो ।

एमालेले उपमहानगरपालिकामा बलियो उपस्थिति देखाउन नसकेको नेताहरूले स्वीकार गरेका छन् । कर बढेको विषयमा एमाले पनि जिम्मेवार रहेको बताउँदै नगर अध्यक्ष यामकुमार सुब्बाले जनतासँग क्षमा मागेर आन्दोलन जारी राख्ने बताए ।

राजस्व परामर्श समितिको संयोजक उपमेयर हुने कानुनी व्यवस्था हुँदाहुँदै कार्यपालिका र नगर सभाबाट कर वृद्धिको विषय पारित हुनु कमजोरी भएको एमालेको ठहर छ । समितिमा छलफल नभएको र कार्यपालिका बैठकमा प्रवेश नभएको कर वृद्धिको विषय एकै पटक नगर सभा बाट पारित भएको एमाले नेताहरू बताउँछन् ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले मेयरले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाए । मेयर पौडेलले असारको अन्तिम दिन नगर सभा बोलाएर नगर सभा सदस्य माथि दबाब बढाएको र व्यवहारिक रूपमा विरोध गर्न नमिल्ने अवस्था सृजना गरेको उनको भनाइ छ ।

करवृद्धीको विषयमा जनताबाट विरोध भइरहेकाले अस्वाभाविक वृद्धि भएको कर समायोजन गर्न एमालेले माग गरेको छ । मेयर पौडेललाई बुझाएको ज्ञापन पत्रमा एकीकृत सम्पत्ति कर, भूमि कर र सिफारिस दस्तुरमा तिन सय प्रतिशत सम्म कर वृद्धि भएको बताइएको छ । इटहरीवासी बाट विरोधको आवाज उठेपछि एमालेले विरोध जनाएको स्वीकार गरेको छ ।

त्यससँगै नियमित कार्यपालिका बैठक बसाउनुपर्ने, प्रत्येक ६ महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने, तोक आदेशमा हुने योजना तथा कार्यक्रम अविलम्ब बन्द गर्नुपर्ने, सीमा बाहेक तजबिजमा गरिने आर्थिक सहयोग बन्द गर्नुपर्ने, बजेट दिग्दर्शन व्यवस्था कार्यान्वयन हुनुपर्ने, जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने एमालेको माग छ ।