धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिले आइतबार बिहान सर्दु खोला वीपी स्मृति पार्क स्थित वीपी कोइरालाको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै ११० औँ वीपी जयन्ती मनाएको छ ।

राणाकालमा वीपी कोइरालालाई पक्राउ गरी विराटनगरबाट धरान ल्याएर धनकुटा हुँदै भीमफेदीको बाटो काठमाडौँ पैदल लैजाँदा खाजा खाएको ठाउँको स्मृतिका रूपमा धरान-१३ र २० को सिमानामा वीपी पार्क स्थापना गरिएको हो ।

सभामा काँग्रेस नगर सभापति श्याम पोखरेलले भने ‘नेपालमा वीपी नजन्मिएको भए देशको अवस्था र लोकतन्त्र कस्तो हुन्थ्यो भन्ने हामी कल्पना गर्न सक्तैनौं ।’ मुलुकलाई युगान्तकारी दिशा दिने महान् नेता वीपीको जलयात्राको प्रस्थान विन्दु जस्तो ऐतिहासिक ठाउँमा स्थापना गरिएको पार्कलाई विकास गर्ने भन्दा विनाश गर्ने कार्य भइरहेको बताए ।

यसले पनि धरान सहरको नेतृत्व कस्ता मानिसको हातमा गएको छ भन्ने देखाउँछ भन्दै अहिले त बोल्न टिका टिप्पणी गर्दा पनि पुलिस लगाउने अवस्था आउनु धरानको लागि दुर्भाग्यपूर्ण भएको बताए । उनले यस्तो अवस्थामा पनि पार्टीहरू बोलेन भन्ने गुनासो आएको बताउँदै भने ‘पार्टी पद्धति, नीति, नियम र अनुशासन अनुसार चल्छ, स्वतन्त्र व्यक्ति नाङगै हिँड्दा पनि हुन्छ ।’

उक्त अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले वीपीको सालिकमा माल्यार्पण प्रारम्भ गरेका थिए । उनले नेपालको राजनीति, आर्थिक तथा सामाजिक अवस्थामा युगान्तकारी परिवर्तन ल्याउन वीपी कोइरालाले गरेको योगदानको समकक्षी नेता कोही नभएको स्मरण गराउँदै नेपाली काँग्रेस अहिले पनि वीपी कोइरालाले देखाएको बाटोमै अग्रसर रहेका बताए ।

उक्त अवसरमा कांग्रेसका पूर्व नगर सभापति किशोर राई, भीष्मराज काफ्ले, विश्वराज शर्मा, मिना पुलामी, उर्मिला प्रधान लगायत पार्टी पदाधिकारी, कार्यकर्ता, प्राध्यापक, बुद्धिजीवीहरूको उपस्थिति थियो । कार्यक्रम नगर सचिव हिमाल श्रेष्ठले सञ्चालन गरेका थिए ।

वीपी पार्क धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईको कार्यकालमा स्थापना गरिएको हो । राणाकालिन नेपालमा प्रजातन्त्रका लागि भएको आन्दोलनका नेताहरूलाई पक्राउ गरेर महिनौँ हिँडाएर यातना दिदैं जेल पुराउने  गरिन्थ्यो । नयाँ पुस्तालाई त्यस्तो प्रस्थान विन्दु बुझाउने पार्कको रूपमा उक्त पार्क स्थापना गरिएको हो ।

bp pratisthan 2