धरान: संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज मङ्गलवार डेढ बजेको समयमा हृदयाघातबाट निधन भएको छ ।

उनको निधनबाट नेपाली राजनीतिले एक शालीन राजनेता गुमाएको छ । गएको पुषमा भएको चुनावमा उनी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार थिए । राष्ट्रपतिको प्रत्याशी बन्ने उनी पहिलो  आदिवासी जनजाति नेता थिए ।

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ तिन दिन अघि शनिवार धरान आएका थिए । राष्ट्रिय युवा सङ्घको प्रथम कोसी प्रदेश महाधिवेशनको उद्घाटन गर्दै नेम्वाङले अराजक गतिविधि गरेर पहिचान स्थापित नहुने बताएका थिए ।

७१ वर्षीय नेम्वाङले विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन सुरु गरेका थिए । २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संलग्न थिए ।

२०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी मिलेपछि नेम्वाङ नेकपा एमालेको राजनीतिक जीवन सुरु भएको हो । २०५४ को छैटौँ महाधिवेशनदेखि उनी एमाले केन्द्रीय कमिटीमा रहँदै आएका थिए । २०७८ सालको दसौँ महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष बने ।

उनी २०४८ र २०५२ सालमा २ पटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ इलामबाट २०५६ सालमा पहिलो पटक संसदीय चुनावमा विजयी भए । २०६४ सालको संविधानसभा निर्वाचन, २९७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम–२ विजयी उनी संविधानसभा अध्यक्ष भएका थिए । २०७४ निर्वाचनमा पनि उनी विजयी भएका हुन ।

नेम्वाङ पटक पटक मन्त्री बने । उनी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्ष पनि भए । २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारी जन्मिएका नेम्वाङको शोक सन्तप्त परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् ।