इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले १५ लाख ८७ हजार नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले दुई अभियुक्त सहित नक्कली नोट सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका-५ का विवेक राई र मकालु गाउँपालिका-६ बस्ने अजय राई रहेका छन् । प्रहरीले एक हजार दरका १५ सय ८७ वटा नोट सहित तीन थान मोबाइल बरामद गरेको छ ।

अभियुक्तहरूले सो रकम बजारमा पुर्‍याए बापत १० लाख रुपैयाँ बुझाएर अरु पैसा आफूले चलाउने तयारी गरेका थिए । १५ लाख ८७ हजार बजारमा पुर्‍याउँदा ५ लाख ८७ हजार फाइदा हुने भएपछि उनीहरू बजार छिरेका हुन् । चाडपर्व नजिकिए सँगै बजारमा पैसाको कारोबार बढ्ने भएकाले नक्कली नोट बजारमा आउने क्रम सुरु भएको हो ।

काठमाडौँबाट नक्कली नोट छपाई गरी बजारमा ल्याएको बताउँदै प्रहरीले पक्राउ परेका नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको उनले बताए ।

गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको डिएसपी कार्कीको भनाइ छ । अभियुक्तको बयानको आधारमा काठमाडौँबाट थप एक जना पक्राउ परेको उनले जानकारी दिए ।

nakkali paisa