इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउने क्रममा विश्वेश्वर प्रसाद कोइरालालाई स्मरण गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगर बिपीका पिता कृष्ण प्रसाद कोइरालाले विकास गरेको पवित्र भूमि रहेको सम्झाएका हुन् ।

जहानिय राणा शासन विरुद्धको आन्दोलनमा कृष्ण प्रसाद कोइरालाको जेलमै निधन भएको थियो । रैतीलाई मालिक बनाउने आन्दोलनमा होमिएका कोइरालालाई कार्कीले सम्झिएका छन् ।

विराटनगरकै लोकतान्त्रिक आन्दोलनका सशक्त महिला योद्धा नोना र सैलजा आचार्य  प्रति कार्कीले सम्मान व्यक्त गरे । विगतमा जनताको समस्या र दरिद्रता हटाउन अनेक आन्दोलन भएको बताउँदै उनले अब सरकार काम गर्न प्रतिबद्ध रहेको बताए ।

"बिपिले राष्ट्रिय योजना आयोगमा गरिब किसानको फोटो राखेर योजना बनाउन आग्रह गर्नुभएको थियो । जनतालाई दरिद्रताबाट मुक्ति दिन बिपीले गरेको योगदान सम्झिनुपर्छ । राज्यका हरेक निकायमा जनताको पहुँच पुर्‍याउन लागि अब यो सरकार लाग्छ," उनले भने।

अब स्थिर र गतिशील सरकारको खाचो पूरा भएको उनको भनाइ छ । सङ्घीयताको औचित्य पूरा गर्न लाग्नुपर्ने बताउँदै कार्कीले प्रहरी समायोजन गर्नुपर्ने बताए । सङ्घीयता कार्य नयनको लागि सङ्घीय सरकारबाट अधिकार प्राप्तिको लागि जस्तोसुकै कदम चालिने उनले उद्घोष गरे ।