इटहरी : नेपाल विद्युत् प्राधिकरणले मोरङ सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूमा नियमित विद्युत् प्रवाहको लागि भरपर्दो व्यवस्थापन गर्ने भएको छ । औद्योगिक क्षेत्रका ग्राहकहरूलाई भरपर्दो विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणको लाइन सुधार गर्ने तयारी गरेको हो ।

भरपर्दो बिद्युत् प्रवाहको लागि नयाँ लाइन बनाउने र सब स्टेसनहरूको क्षमता बढाउने कामलाई प्राधिकरणले योजनाबद्ध तरिकाले अगाडी बढाइरहेको छ । उद्योगहरूमा लाइन जाने र आउने (ट्रिपिङ) समस्या बढ्दै गएको उद्योगीहरूको गुनासो पछि प्राधिकरणले चासो दिएको हो ।

प्राधिकरणले सुनसरीको दुहबी स्थित १३२ केभी ग्रिड सब स्टेसनको भार घटाउन पुरानो लाइनहरूको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको ४०० केभी क्षमताको सब स्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि तयारी भइरहेको छ । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीबाट स्थानीय आपूर्ति पुरा गर्ने र दुहबी सब स्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घटाएर औद्योगिक क्षेत्रमा निरन्तर बिद्युत् प्रवाह गराउने प्राधिकरणको योजना छ ।

पछिल्लो समय निर्माणाधीन रहेका र केही निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाको बिद्युत् इनरुवा स्वस्टेसनमा जोडिने भएका छन् । मुख्यतः अरुण, तमोर तथा सहायक खोलाबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सब स्टेसनमा जोडिने भएको छ ।

मेची कोरिडोरका ताप्लेजुङ, पाँचथर, इलामबाट सङ्कलित बिजुली काबेली कोरिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा सङ्कलन गरेर विराटनगरको १३२ सबस्टेशनमा ल्याउने तयारी भइरहेको छ । 

दुहबीको १३२ केभी तथा रानी र टंकीसिनुवारीका ३३/११ केभीको घटाउन विराटनगरमा १३२ केभिको सब स्टेसन निर्माणाधीन अवस्थामा छ । सुनसरीको बर्जू गाउँपालिकाको सबस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि इनरुवामा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

सो निर्माण कार्यको ठेक्का पाएको सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरि एण्ड जोशी कन्स्ट्रक्सन संयुक्त काम गरिरहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकदार कम्पनीलाई आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । फागुनभित्र निर्माण पूरा नभए विद्युत् उपलब्ध भएरपनि आपूर्ति दिन नसक्दा बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्था आउने उनले बताए ।

यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगहरूलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको उनले जानकारी दिए । धेरै विकल्प रहेको बताउँदै उनले सञ्चालित योजनाहरू गर्मी सुरु हुनुभन्दा अगाडी नै सक्नुपर्ने बताए ।