वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको वराह आदर्श क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा चन्द्र मगर निर्वाचित भएका छन् ।

अध्यक्ष पदका प्रतिस्पर्धी प्रदीप कार्कीलाई पराजित गर्दै चन्द्र मगर पुर्न: अध्यक्षमा निर्वाचित भएका हुन् । आज बुधवार बिहान सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित मगरले १४ मत र प्रतिस्पर्धी कार्कीले ७ मत प्राप्त गरेको निर्वाचित समितिका संयोजक ज्ञानबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार २१ जना निर्वाचित सञ्चालक समितिका सदस्यहरूबाट अध्यक्ष चयन गर्ने व्यवस्था अनुसार अध्यक्ष पदको निर्वाचन गरिएको हो । क्याम्पसका संस्थापक तथा आजीवन सदस्यहरूबाट १५ जना सञ्चालक समितिमा सर्व सहमतिबाट चयन भएका थिए । १५ जना निर्वाचित सदस्य , वडा नं १ र २ का अध्यक्ष, निर्वतमान सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, विद्यार्थी प्रतिनिधि र सह-प्राध्यापकहरूबाट १ जना प्रतिनिधि पदेन सदस्य रहेको २१ सदस्य सञ्चालक समिति गठन भएको थियो ।

२१ जना सदस्य मध्य ज्येष्ठ सदस्य देउमाया थापामगरको अध्यक्षतामा बसेको पहिलो सञ्चालक समितिको बेठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्न नसके पछि निर्वाचन प्रक्रियाबाट अध्यक्षको चयन गरिएको थियो ।

यस अगाडि सञ्चालक समितिमा संस्थापक तथा आजीवन सदस्यहरूबाट कृष्ण कट्टेल, गोकुल गुरागाईँ, सुरेश श्रेष्ठ, छत्रकुमारी गौतम, देउमाया थापामगर, धनकुमारी गहतराज, हरिकृष्ण भट्टराई, प्रह्लाद थापा , निरकुमारी प्रधान,प्रभा दाहाल, अशोक साह, वेदमाया खड्का, भवानी प्रसाद गौतम, उद्धव घिमिरे र प्रदीप कार्की सर्वसम्मत रूपमा चयन भएका थिए । त्यस्तै समितिमा निर्वतमान अध्यक्षको रूपमा चन्द्र मगर, वडा नं १ का अध्यक्ष किसन थापामगर, वडा नं २ का अध्यक्ष होम गौतम, क्याम्पस प्रमुख रमेश चौहान, विद्यार्थी प्रतिनिधि अच्चुत खड्का र सह-प्राध्यापकको रूपमा पर्शुराम चौधरी पदेन सदस्यको रूपमा चयन भएका थिए ।