• अनुसा थापा
स्थानीय तहको चुनाव भएको पनि २० महिना पुग्यो । जनप्रतिनिधिहरूको पाँच वर्षको कार्यकालमा अब तीन वर्ष चार महिना बाँकी छ । जनप्रतिनिधिहरू निर्वाचित भएर आएको लामो समय बितिसक्दा समेत स्थानीय तहमा खासै सुधार भएको देखिँदैन । हरेक पालिकाको अवस्था उही नै छ ।
जनप्रतिनिधिहरू सरकारी गाडी चढ्न, आफ्ना आफन्तलाई जागिर लगाउन, ठेक्कापट्टा मिलाउनमै व्यस्त छन् । जनप्रतिनिधिहरूले केही काम नै गरेका छैनन् ।  न आफ्नो कार्य क्षेत्रभित्र भएको गुठी, सार्वजनिक, मठमन्दिर र सरकारी जग्गा खोजतलास गर्न सके न कर नै उठाउन सकेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चित छन् । सबैतिर उनको वाहवाही छ । तर, उनले जडीबुटीमा अरनिको यातायात प्रालिले गैर कानुनी रूपमा निर्माण गरेको बसपार्क समेत हटाउन सकेका छैनन् । न सुकुम्वासी बस्ती हटाउन नै महानगर सफल भयो ।
सङ्घीय र प्रदेश सांसदको चुनाव भएको १३ महिना पुगेर १४ महिना लाग्यो । यो अवधिमा एउटा मीटरब्याज सम्बन्धी विधेयक पारित भयो । सांसदहरूको वर्ष दिनको प्रगति यतिमै सीमित छ । २०७९ वैशाख ३० गते स्थानीय तहको र मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन भयो ।
निर्वाचन गर्दा जनताले तिरेको कर अर्बौँ रुपैयाँ खर्च भएको छ । अर्कोतिर, आम सर्वसाधारणले पाएको दुःखको कुनै लेखाजोखा छैन । आम सर्वसाधारणले घण्टौँको बाटो हिँडेर दिनभरि लाइन बसेर जनप्रतिनिधि चुनेर पठाए । अब देशले विकासको फड्को मार्छ,, देशमै रोजगारी पाइन्छ, विदेशीको नाङ्गो हस्तक्षेपबाट देश मुक्त हुन्छ भन्ने सोचेर आम सर्वसाधारणले भोट दिएका थिए ।
तर, सोचेकोभन्दा ठ्याक्कै उल्टो भएको छ । विकास शून्य छ । जनताको समस्या ज्यूँको त्यूँको छ । अहिले मुलुकको जटिल अवस्थाबाट गुज्रिरहेको छ । देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । उद्योग व्यापारी, अर्थविद्हरूले अर्थतन्त्र अझैपनि दयनीय अवस्थामा रहेको बताउँदै आएका छन् ।
चुनाव जित्नुअघि अधिकांश जनप्रतिनिधिले दिएको आश्वासन,‘मलाई भोट दिनुस् । म सरकारी गाडी पनि चढ्दिन । तलब पनि लिँदिन । निःशुल्क जनताको सेवामा खटिन्छु ।’ तर, यहाँ तलब भत्ता नखाने को छ ? सबै राज्यको ढुकुटी लुट्ने मात्रै छन् । हिजो भोट माग्दा ठूल्ठूला आश्वासन दिनेहरू पनि आज सरकारी गाडी चढ्छन्, तलब भत्ता बुझ्छन् ।
सूचना तथा सञ्चार मन्त्री हुँदा ७० करोडको भ्रष्टाचारको आरोप लागेका गोकुल बाँस कोटालाई काभ्रेको जनताले दोस्रो मौका दिए । उनीहरूले बाँस कोटालाई चुनाव जिताएर पठाए । तर, अहिले उनीलाई भोट दिनेहरू निराश भएका छन् । उनले म तलब भत्ता लिँदिन, सरकारी गाडी चढ्दिन भन्ने हो भने त काभ्रेको जनताको शिर ठाँडो हुन्थ्यो ।
उनलाई चुनाव जिताएर पठाएकोमा पछुतो रहँदैनथ्यो । कुनचाहिँ सांसदले तलब भत्ता लिँदिन, सरकारी सेवा सुविधा लिँदिन भनेर आम सर्वसाधारण कुरेर बसेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठकमा दिइने महँगा खाजा कटौती गर्ने निर्णय गरेका छन् ।
२०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गर्दा कसैले पनि सफलताको आस गरेको थिएन । देशमा लोकतन्त्र आउँछ भनेर कल्पनै गरिएको थिएन । जनयुद्धको कमान्डर हालका प्रधानमन्त्री प्रचण्ड नै हुन् । उनले देशबाट राजतन्त्र फ्याँकेर लोकतन्त्र ल्याएर छाडे । सर्वसाधारणले महँगा खाजा कटौती सुरुवात मात्र हो भन्न थालेका छन् ।
उनले क्रमिक रूपमा भूपू राष्ट्रपति, मन्त्री, सरकारी कर्मचारीलाई दिँदै आएको पेन्सन र सेवा सुविधा कटौती गर्छन् भन्ने आकलन सर्वसाधारणको छ । अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरूको तलब भत्ता र सेवा सुविधा काट्न जरुरी भइसकेको छ । मन्त्रीहरूले तलब भत्ता लिएका छन् ।
तर, काम केही नै गरेका छैनन् । अधिकांश मन्त्रीलाई जनताले चिन्दै चिन्दैनन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूको तलब पनि काट्न आवश्यक भइसकेको आम सर्वसाधारण बताउँछन् ।  प्रगति नै छैन भने राज्यको ढुकुटी दोहन गर्नुको के अर्थ ? देशमा साँच्नै नै विकास गर्ने हो भने प्रचण्ड अब ‘एक्सन’ मा जानै पर्छ ।
जनप्रतिनिधि र भूपूहरूलाई फोगट्टेको तलब भत्ता खुवाएर देश विकास हुने होइन । प्रधानमन्त्रीले अब सरकारी खर्च कटौती गरेर विकासमा लगानी गर्नुपर्छ । देशमा लाखौँ सेना छ । तर, सेनाको काम के छ ? पछिल्लो केही समययता सेना कटौतीको समेत माग उठिसकेको छ ।
राज्यको आम्दानी छैन, सरकारी खर्चचाहिँ बढेको बढ्यै छ । जनताले कहिलेसम्म धान्छन् ? कर तिर्ने जनतालाई केही सेवा सुविधा नै छैन । अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल पटकपटक मन्त्री भए । उनी सभामुख पनि भए । उनी अंकुत सम्पत्तिका मालिक हुन् । तैपनि राज्यको ढुकुटी लुट्न छोड्दैनन् ।
राष्ट्रपति पद सम्हालेपछि उनी पटकपटक बिरामी भएर अस्पताल भर्ती भइसकेका छन् । यहाँ मात्र नभएर उपचारका लागि भारतसम्म पुगे । त्यहाँ उपचार गर्दा लागेको खर्च आफैँले व्यहोर्ने घोषणा गरे । तर, अन्त्यमा राज्यको ढुकुटीबाटै लिए । देशका प्रमुख भनाउँदा हरू नै  ‘लोभी’ भएपछि जनताले कसरी सुख पाउँछन् ?
राज्य सञ्चालकहरू ‘मै खाऊँ, मै लाऊँ’ गर्छन्, जनता जाऊन् भाडमा । देश र जनताप्रति लामोचौडा भाषण गर्नेहरू ‘देश बेचेर खाऊँ, जनता चुसाऊँ’ भन्ने मनसायका छन् । एउटा चर्चित उखान छ,‘मुखमा रामराम, बगलीमा छुरा’ ठ्याक्कै त्यस्तै छन् नेताहरू । मुखले माया दर्साएर के गर्नु ? कामले देखाउन सक्नुपर्‍यो नि ।
राजनीति परिवर्तनको क्रममा पटकपटक जेल गएका कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले बैङ्कमा खाता पनि खोलेनन्, एक टुक्रा जमिन पनि जोडेनन् । देशको प्रधानमन्त्री त उनीहरू पनि भए तर उनीको मनमा लोभ उब्जिएन । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल बसेका एक जना व्यक्ति बल्खुस्थित एमालेको पुरानो कार्यालयमा भएको रुखमा झुन्डिएर मरे ।
आर्थिक अवस्था कमजोर भएका उनले आफ्नो छोरालाई जागिर लगाइदिनु भन्दै पटकपटक ओलीसँग आग्रह गरे । तर, ओलीले नगरिदिएपछि उनले कतै बाटो देखेनन्, झुन्डिएर मरे । त्यो व्यक्ति ओलीजति नै जेल बसेका थिए । उनीचाहिँ घरमा खाना नभएर मरे भने ओली त अंकुत सम्पत्तिको मालिक हुन् ।
यो कसरी सम्भव भयो ? सबै भ्रष्टाचार होइन । हिजो चप्पल लगाउने हैसियत भएकाहरूको आज राजधानीमा रोपनी जग्गामा बनेको घर छ । न तिनले जागिर खाए न तिनको देख्ने गरी कुनै व्यापार-व्यवसाय छ । अनि अर्बौँको सम्पत्ति जोडे कसरी ? देश लुट्ने, जनतामाथि शोषण गर्ने, भ्रष्टाचार गर्नेहरूलाई नेता भन्नुपर्दा नेपालीलाई हीनताबोध महसुस हुन्छ ।
देशप्रति कति न माया ममता भएजस्तै गरी भाषण ठोक्ने गगन थापा, जनार्दन शर्मा, रामकुमारी झाँक्री, ज्ञानेन्द्र शाही, रवि लामिछानेको सम्पत्ति छानबिन गरौँ । देशमा भ्रष्टाचार कति रहेछ ? भन्ने घामजस्तै छर्लङ्ग हुन्छ । प्रचण्डसँग यिनीहरूको सम्पत्ति छानबिन गर्ने आँट छ ?
उनले आफ्नो पनि सम्पत्ति सार्वजनिक गर्नुपर्छ, मन्त्री, राजनीतिक दलका नेता, सरकारी कर्मचारी सबैको सम्पत्ति खोजतलास गर्नुपर्छ । जनयुद्धको बेला दिएका आश्वासन त पूरा गर्नुपर्‍यो । देशमा केही परिवर्तन होला, जनताले सुख सुविधा पाउलान् भनेर त प्रचण्डलाई नेपालीले जनयुद्धमा साथ दिएका थिए ।
आफ्नो ज्यान जोखिममा राखेर जनयुद्धमा होमिए । १७ हजार सहिद भए । देश नेताहरूको बाँडी चुँडी खाने थलो बनोस् भनेर कसैले जनयुद्धमा साथ दिएका होइनन् । अहिले एमाले र काँग्रेसका कार्यकर्ताले माओवादीले देश खत्तम बनाइसकेको आरोप लगाउन थालिसकेका छन् । उनी?ले आफ्नो पार्टी पनि सरकारमा गएको थियो भन्ने बिर्सिएका छन् ।
अब पनि प्रचण्डसहित माओवादीका मन्त्री, जनप्रतिनिधिले तलब भत्ता, सरकारी सेवा सुविधा नत्याग्ने हो भने अर्को चुनावमा माओवादी ‘जिरो’ हुन्छ । ३२ सिट ल्याएको माओवादी सत्तामा छ । माओवादीले अवसर पाएको छ, त्यसलाई कसरी प्रयोग गर्ने ? भन्ने माओवादीको हातमा छ ।