धरान : मेयर हर्क साम्पाङले आफै प्रतिबन्धित गरेको खेल तमासा सहितको मेला यसपालिको 'धरान डे' मेला देखी खुल्ला गरेका छन् ।

उपमहानगरपालिकाले यसपालि पब्लिक हाई स्कुल मैदान लगाउने मेलामा खेल तमासा रोटेपिङ, नाउ, ड्रागन, घोडापिङ, मिकि माउस लगायत पहिलेका मेलामा लगाइने खेलहरू राखिने भएको हो ।

यसअघि गत वर्ष सुनसरी उद्योग वाणिज्य सङ्घले धरान-१६ रंगशालमामा आयोजना गरेको ‘धरान ए्क्स्पो’ व्यापार मेलामा बालबालिकाको लागि उद्यान र रोटेपिङ सम्म राख्न मेयर साम्पाङले प्रतिबन्धित गरेका थिए ।

त्यस भन्दा अघि उनी अभियन्ता हुँदा मेलाले विकृति विसङ्गति ल्याउने भन्दै धरानमा मेला उत्सव लाउन नहुने पक्षमा मेयर सम्पाङ लागेका थिए । खेल तमासा जुवाजन्य भएको भन्दै उनी विरोधमा थिए ।

दशैंमा लाग्दै आएको मेला पनि धेरै वर्ष यता धरानमा बन्द भएको थियो । त्यस बेला मेला सङ्घ, संस्थाहरूले 'फण्ड राइजिङ' लागि लगाउँथे । यसपालि ‘धरान डे’ मनाउने भनी धरान उपमहानगरपालिका आफैले मेला लगाउने भएको हो ।

मेलाको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङले मेलामा सबै खेल तमासा हुने बताए । सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने ‘अब हरेक समय धरानमा मेला लाग्छ, हरेक वर्ष दसैँ तिहारमा समेत मेला लगाउन दिइने छ ।’

उनले मेलाको आयोजनाले आर्थिक लाभ गर्ने बताए । उनले यसअघि आफैले गरेको कुरा काट्दै प्रश्न गरे ‘एउटा रोटेपीङ नाथे खेलाउनु नहुने किन त भन्दा पहिले झगडा भयो रे झगडा हुन्छ भनेर मेला नलगाउने कुरा हुन्छ ?’ जुवाजन्य खेलहरूमा पैसामा चलखेल हुने, कसले लिने भन्ने विवाद हुने बारेमा सोधिएको प्रश्नमा त्यस्तो नहुने दाबी गरे ।

मेलामा रोटेपीङ लगाउने सूचना पुस ११ गते प्रकाशित गरिएको थियो । बोलपत्र अनुसार तीन जनाले प्रस्ताव लगाएका थिए । तीन प्रस्तावमा मापदण्ड पूरा भएको एउटा मात्र प्रस्ताव आएको भन्दै धरान-४ का धनबहादुर राईलाई कुल ३ लाख रुपैयाँमा ठेक्का दिइएको छ ।

उत्सव स्टेयरीङ कमिटीको बैठकमा धरान वडा-१० का वडा अध्यक्ष विवेक राईले रोटे पिङको ठेक्का ९ लाख रुपैयाँ सम्मको प्रस्ताव आएको र दररेट कोटेसनमा गर्दा अझ बढी आउन सक्ने बताएका थिए । तर ३ लाखमा कसरी ठेक्का दिइयो भनेर उनले प्रश्न पनि उठाएका थिए ।

बजारमा चलेको उक्त चर्चालाई मेयर साम्पाङले अस्वीकार गरे । उनले भने, ‘त्यस्तो होइन । के के चर्चा हुन्छ, हुन्छ ।’ ३ दिन मनाउँदै आएको मेला ५ दिन गरिनुको कारण रोटेपीङलाई फाइदा पुर्‍याउनका कारण भएको भन्ने प्रश्न पनि मेयर राईले अस्वीकार गरे । उनले भने ‘नलगाउनु, लगाएपछि पाँचै दिन लगाऔँ केही छैन भन्ने भयो, सबैको विचार समेटिनुपर्छ । त्यसैले ५ दिन मनाउन लागियो।’

मेलाका लागि पब्लिक स्कुलमा ७४ स्टल बनाइएको आर्थिक महाशाखा प्रमुख भक्ति राज शर्माले बताए तर मेला स्थल पब्लीक स्कुलमा स्थलगत अनुगमन गर्दा १०२ वटा स्टल बनेका छन । स्टलहरूमा खानपिनका साथ मदिरा जन्य पदार्थ समेत राख्न पाइने व्यवस्था गरिएको छ ।