धनकुटा : धनकुटा नगरपालिकाले आज मङ्गलवार देखी लागुहुने गरी ट्राफिक व्यवस्थापनमा नयाँ नियम लागु गरेको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापन गर्न नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागु गरेको हो ।

मदन चोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मङ्गलवार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधवार र शुक्रवार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ ।

अटो सहितका तीन पाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् । उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचय मोड र बसपार्कलाई तोकिएको छ । साना चार पाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् ।

सामान लोड/अनलोडको पनि समय निर्धारण गरिएको छ। मालवाहक साधनले बिहान ९ देखि साढे १० बजे र बेलुका साढे ३ देखि साढे ५ बजे बाहेकको समयमा मात्र सामान लोड/अनलोड गर्न पाउनेछन् ।

धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागु गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।

उनले भने ‘बजारको सडक साँघुरो छ, गाडीहरू बढिरहेका छन्, त्यसमाथि सडकको दुवैतर्फ पार्किङ गरिदिनाले आवतजावतमा समस्या हुन थालेपछि लागु गरिएको नयाँ नियमले सवारी आवतजावत केही हदसम्म सहज हुन्छ भन्ने लागेको छ ।’

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई सहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन गरेको थियो ।

नयाँ नियम कार्यान्वयन गर्न बजार क्षेत्रमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ । नयाँ नियम भएकाले पहिलो चरणमा सवारी धनीहरूलाई सम्झाउने र त्यसपछि जरिवानाको प्रक्रियामा जाने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।