धरान : धरान उपमहानगरपालिकाको मङ्गलवार बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले एजेण्डा टेबल गरेपछि पहिलो एजेन्डामा प्रश्न उठेसँगै मेयरले आफै बैठक स्थगित गर्दै बाहिरिए ।

उनले कार्यपालिका बैठकमा ६ वटा एजेन्डा राखेका थिए । मेयर साम्पाङको पहिलो एजेन्डा विभिन्न समूहद्वारा निर्मित तथा हस्तान्तरण गरेको भनिएका सर्दु खोला स्थित पार्कहरूलाई सूचीकृत तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले जिम्मा लिने निर्णय पास गर्न प्रस्ताव थियो ।

लगत्तै कार्यपालिका सदस्य दिनेश गजमेर आफ्नो कुरा राख्न पाउनुपर्ने माग गर्दै पार्क कसले हस्तान्तरण गरेको कसले लिएको हो भन्दै प्रश्न गरे । उनले प्रदेश सरकार र सङ्घीय सरकारबाट १ करोड ३२ लाख संसद् कोषबाट समेत आएकोले त्यसको प्रतिवेदन जरुरी भएको बताए ।

गजमेरले कार्यपालिका बैठकमा ‘किन श्रमदान र विदेशको सहयोगबाट मात्र निर्माण भएको भनेर हल्ला भयो त्यसको पुष्टि सहित आउनु पर्‍यो’ भनी प्रश्न उठाएका थिए । कार्यपालिका सदस्य सृजना नेपालले कार्यपालिका बैठकमा जबरजस्ती निर्णय पास गरेको भन्दै त्यस्तो गर्न नहुने बताए ।

कार्यपालिका बैठकमा एजेण्डा प्रस्तुत भए पनि मेयर साम्पाङ बैठकमा उठेर गएको कारण  कुनै पनि एजेन्डामा छलफल भएन ।

उपमेयर आईन्द्र बिक्रम बेघाले भने ‘मेयर साम्पाङले बैठक आवेश उत्तेजनामा स्थगित गरे ।’ उनका अनुसार बैठकमा टेबल भइरहेको बेला बैठक अध्यक्षता गरेका मेयर साम्पाङ केही नभनी जुरुक्कै उठेर जानु हुँदैन थियो । कार्यपालिका सदस्य सबै मेयर आउने आशामा कहिबेर कुरेर बसेका थिए ।

उपमेयर बेघाले भने ‘नगरपालिकाले जिम्मेवार भई ६ वटै पार्क जिम्मा लिन्छ र लिनुपर्छ ।’ तर नगर प्रमुखकै संयोजकत्वमा ३ सदस्यीय समिति बनाएर पार्क सम्बन्धी स्थानीय निकायले ऐन नियम नीति कानुन र कार्यविधि निर्माण गरेपछि मात्र सूचीकृत गर्नुपर्ने कुरा उठेपछि मेयर साम्पाङ बैठक छाडेर हिँडेका हुन ।

उनले भने ‘हचुवाको तालमा कुनै पनि कार्य गर्नु हुँदैन ।’ पार्क जिम्मा लिएपछि पार्क निर्माणका क्रममा भएका सम्पूर्ण कार्यभार जिम्मा कार्यपालिका सदस्यहरू लिनुपर्ने र त्यसको सम्पूर्ण जबाफदेहिता लिनुपर्ने भएकाले समितिको अध्ययन प्रतिवेदन सहितको राय र छलफल पछि मात्र पास गर्ने भनिएको उपमेयर बेघाले बताए ।

वडा १५ का अध्यक्ष तथा एमाले संसदीय दल नेता नरेश ईवरामले पार्क सूचीकृत हुने तर मेयर साम्पाङ सहित वडा २० का अध्यक्ष पदम लिम्बू र वडा-१३ का अध्यक्ष नेत्र काफ्ले सहितको समिति बनाएर अध्ययन अनुसन्धान गर्दै डाटा सङ्कलन गरी बजेट प्रतिवेदन तयार गर्नुपर्ने बताए ।

उनले समितिको अध्ययन रिपोर्ट आएपछि राय बिचार सहित कार्यपालिकामा छलफल गरेर मात्र पार्क सूचीकृत गरी नगरले व्यवस्थापन गर्न गर्ने जिम्मा लिने बताए ।

उनले भने ‘जिम्मा लिनु ठुलो कुरा होइन पार्क जिम्मा लिएपछि जबाफदेहिता ठुलो कुरा रहेकोले राय सहितको प्रतिवेदन आएपछि मात्र जिम्मा लिने भनेका हौ तर मेयर साब गैर जिम्मेवार भई जुरुक्क उठेर हिँडे हामी त धेरै बेर पर्खेर बस्यौ तर आउनु भएन ।’