धरान : स्थानिय तह गाउँ, नगरपालिकाहरूलाई सङ्घीय बजेट, योजना र कार्यक्रम प्रदान गर्ने मापदण्ड मूल्याङ्कनमा धरान उपमहानगरपालिका ‘सहकार्य’मा सबै भन्दा पुछारमा पुगेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि अनुसार आर्थिक वर्ष २०७९/०८० को प्रारम्भिक नतिजामा धरानले सहकार्यमा ‘०’ शून्य अङ्क पाएको हो । सहकार्य नगरपालिकाको नेतृत्व मेयरमा निर्भर हुन्छ ।

मेयर हर्क साम्पाङले अन्य पालिका र सङ्घसंस्थाहरूमा सहकार्य र समन्वय गरेको नदेखिएको कारण स्वमूल्याङ्कनमा धरान उपमहानगरपालिकाले शून्य अङ्क पाएको हो । बैठकमा वरिष्ठ प्रशासकीय अधिकृत निरौलाले सहकार्य तथा समन्वयमा कुनै कागजात नभेटिएकाले शून्य प्रतिशत आएको बताइन् ।

उनका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य समन्वय, अन्तर स्थानीय तह, पूर्वाधार निर्माण, दुई वा सोभन्दा बढी स्थानीय तहको सहकार्य र समन्वय, प्राकृतिक स्रोतको संरक्षण तथा उपयोग, पूर्वाधार, फोहोर मैला व्यवस्थापन, आपत्कालिक सेवा व्यवस्थापन, दुई वा सोभन्दा बढी स्थानीय तहका सरोकारको विषय स्वमूल्याङ्कनको विषय क्षेत्र रहेका थिए ।

निरौलाले भनिन्, ‘संविधान धारा २३५ अनुसार अन्तर स्थानीय तह, स्थानीय तह सञ्चालन ऐनको दफा ३६ अनुसार काम नभएकाले समन्वय सहकार्यमा शून्य प्रतिशत आएको हो ।’

शून्य अङ्क आएको विषयमा धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराईले प्रश्न उठाएका थिए । उनले कर्मचारी, प्रशासकीय प्रमुखले समन्वय तथा सहकार्यका विषयमा नेतृत्वलाई अवगत गराइयो की गराइएन ? भनी प्रश्न गरेका थिए ।

उपमेयर आईन्द्र बिक्रम बेघा लगायत अन्य वडा अध्यक्षले समेत समन्वय र सहकार्यमा शून्य आएको विरोध जनाउँदै भने शून्य हुनुमा मुख्य जिम्मेवार मेयर हर्क साम्पाङको हात रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उपमेयर बेघाले, ‘सहकार्यको र समन्वयमा शून्य प्रतिशत कसरी यसको मुख्य हिस्सा मेयर हुनुपर्छ’ भन्दै बैठकमा मेयर साम्पाङलाई गिज्याएका थिए । उनले  मेयरले धरान उपमहानगरपालिकामा हुने कुनै पनि संस्थागत कार्य र निर्णयमा सहकार्य र समन्वय नगरेको साथै कार्यपालिकाको एजेन्डा बनाउँदा समेत एकल ढङ्गले हुँदै आएकाले सच्चिनु पर्ने सुझाव दिए ।

स्वमूल्याङ्कनमा न्यायिक कार्यसम्पादनमा भने धरान उपमहानगरपालिकाले १०० प्रतिशत अङ्क प्राप्त गरेको छ । उपमहानगरपालिकाको न्यायिक समितिको संयोजक उपमेयर अइन्द्र बिक्रम बेघा हुन् । उनको न्यायिक कार्यसम्पादनको उच्च मूल्याङ्कनको आधारमा धरानले शतप्रतिशत अङ्क पाउन सफल भएको देखिएको छ ।

कार्यपालिकाको आइतबार बसेको दोस्रो बैठकमा वरिष्ठ प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले जिल्ला समन्वय समितिबाट प्राप्त प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन् । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा उक्त तथ्याङ्क उल्लेख छ ।

उक्त नतिजा कार्यविधि अनुसार धरानको २०७९/०८० को स्वमूल्याङ्कनमा जिल्ला समन्वय समितिको पृष्ठपोषण समेत समावेश गरिएको नतिजा भएको बैठकमा निरौलाले बताइन् । कार्यविधि व्यवस्था भएको जम्मा १० वटा विषय क्षेत्रगत सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा जम्मा प्राप्ताङ्क ७१ दशमलव ५ प्रतिशत अङ्क प्राप्त भएका उनले जानकारी दिइन् ।

धरानले प्राप्त गरेको नतिजामा कर्मचारीद्वारा गरिने अधिकांश कार्यसम्पादनमा सन्तोषजनक अङ्क प्राप्त भएको देखिएको छ । स्वमूल्याङ्कन नतिजा अनुसार प्रशासकीय प्रबन्धमा ७७ दशमलव ७८ प्रतिशत, सङ्गठन तथा प्रशासन ६२ दशमलव ५ प्रतिशत प्राप्त भएको छ ।

वार्षिक बजेट तथा योजना व्यवस्थापन ७२ दशमलव ७३ प्रतिशत, वित्तीय एवं आर्थिक व्यवस्थापन ९५ दशमलव ४५ प्रतिशत, सेवा प्रवाह ८१ दशमलव २५ प्रतिशत, न्यायिक कार्यसम्पादनमा १०० प्रतिशत, भौतिक पूर्वाधारमा ६१ दशमलव ५४ अङ्क प्राप्त भएको छ । सामाजिक समावेशीकरण ७० प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ६६ दशमलव ६७ प्रतिशत र सहकार्य तथा समन्वय शून्य प्रतिशत आएको प्राप्त भएको छ ।