धरान : धरान उपमहानगरपालिका कार्यपालिकाको आज बुधवार बसेको बैठकमा मेयर हर्क साम्पाङले प्रस्तुत गरेको कार्यविधिहरू अस्वीकृत भएका छन्।

कार्यपालिका बैठकले समपूरक अनुदान, विशेष अनुदान र तराई मधेस समृद्धि कार्यक्रमको योजना छनौट, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८० अस्वीकृत गरेको छ ।

यसअघिको कार्यपालिका बैठकले अस्वीकृत गरेको पशुपन्छी खोप कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० आजको बैठकमा पनि अस्वीकृत भएको छ । बैठकमा टेबुल गरिएको रोजगार संवाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० पनि अस्वीकृत गरिएको छ ।

स्थानिय शासन सञ्चालन ऐन अनुसार उपमहानगरपालिकालाई आवश्यक ऐन, नियम बनाउन मस्यौदा समिति गठन गर्नुपर्ने व्यवस्था छ। निर्वाचनबाट कार्यपालिका गठन भएको वर्ष दिन नाघेपनि उक्त समिति गठन भएको छैन ।

कार्यपालिकामा नेकपा एमाले संसदीय दलका नेता धरान-१५ का वडाध्यक्ष नरेश इङवारमका अनुसार धेरै कुरा कार्यविधि, नीतिले मात्र हुँदैन ऐन, कानुन नै बनाउनु पर्ने आवश्यकता छ । उनले भने ‘तर मेयर साबले कानुन मस्यौदा समिति अहिले सम्म गठन गर्नु भएको छैन ।’

ऐन, कानुन चाहिने विषयमा नीति, कार्यविधिको नाममा छलेर आफू अनुकूल निर्णय गर्न सहज हुने मस्यौदाहरू कार्यपालिका बैठकले अस्वीकृत गरेको उनले बताए । तत्कालका कामलाई सहज गराउन आवश्यक कुराहरू भने कार्यपालिकाले पारित गरेको उनको भनाई छ ।

कार्यपालिका बैठकमा मेयर साम्पाङले प्रस्तुत गरेको नगरसभा सम्बन्धमा, विद्यार्थी सवार हुने सवारी साधनहरूले पूरा गर्नुपर्ने मापदण्ड २०८०, बाल विकास केन्द्रले पूरा गर्नुपर्ने मापदण्ड लगायतका एजेन्डा पारित भएका छन् ।

मेयर साम्पाङले प्रस्तुत गरेको सर्दु खोलामा सचेत नागरिक र स्वतन्त्र नागरिक समाजले बनाएको पार्क  हस्तान्तरणको एजेण्डालाई पनि कार्यपालिका बैठकले अस्वीकृत गरेको छ । उक्त एजेण्डामा लामो छलफल भएपछि बैठक नै स्थगन गर्नु परेको थियो ।

वडाध्यक्ष इङवारमका अनुसार कार्यपालिकाको बैठकमा छलफल हुने लिखित एजेण्डामा पार्क हस्तान्तरणको एजेण्डा नै थिएन । बैठकको एजेण्डा नभएकोले त्यसलाई अर्को बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गर्ने सुझाव दिइएको उनले बताए ।

बैठकमा उपमेयर आईन्द्र विक्रम बेघाले कार्यपालिका बैठकलाई मर्यादित र अनुशासित बनाउन मेयर साम्पाङलाई सुझाव दिए । उनले भने ‘तोक आदेश, मौखिक आदेश, अरू आदेशले कार्य गर्ने तर लेखेर नदिने चलन हटाउँदै जानु जरुरी छ ।’

उनले मेयरको दिमागमा आएको एजेन्डा मात्र एजेन्डा भएर बैठकमा आउने हो र ? भनी प्रश्न पनि गरे । कार्यपालिका बैठकमा आमजनता र कार्यपालिका सदस्य वडा अध्यक्षहरूको एजेन्डा ‘एजेन्डा’ भएर आउनु पर्नेमा उपमेयर बेघाले जोड दिए ।

उनले भने ‘१८ महिना देखी कार्यपालिका बैठकमा एजेन्डामा पर्याप्त छलफल भएको छैन ।’ बैठक बस्नु पूर्व एजेन्डाको विषयमा मेयर, उपमेयर प्रशासकीय अधिकृतसँग छलफल हुनुपर्ने त्यसपछि संसदीय दलका नेतासँग छलफल गरेर मात्र कार्यपालिका बैठकमा टेबुल हुनुपर्ने कार्यविधि रहेको ध्यानाकर्षण गराए ।

उपमेयर बेघाले मेयर साम्पाङले टिम वार्क गर्नु पर्नेमा वान वर्क मात्र गरी एकलौटी एजेन्डा प्रस्तुत गर्दै आएको बताए । मेयरले कार्यपालिकासँग भन्दा कर्मचारीसँग टिम वर्क गरेको बताउँदै ‘त्यसो गर्दा आम नागरिकको विश्वास जितेर धरानको विकास समृद्धिमा अगाडी बढ्नु पर्ने टिम वर्क नभई वान वर्क मात्र भएको छ ।’ यस्तो कार्यशैलीले धरान विकास नहुने उनका भनाई थियो ।