धरान : नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडौँ बाहिर धरानमा मनाउँदै बुधवार मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको १/१ लाख रुपैयाँ राशिको 'प्रज्ञा मातृभाषा साहित्य पुरस्कार' यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १/१ लाख प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गर्दै आएको 'मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८०' बाट जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठ काठमाडौंमा सम्मानित भएका छन् ।

प्रतिष्ठानले मातृभाषा सेवी, कवि, साहित्यकारहरूको उपस्थितिमा धरान-८ लाङघाली सामुदायिक बनको सभाहलमा समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको हो ।

मातृभाषा दिवसमा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सवमा विविध आदिवासी जातिका मातृभाषाका ४४ कविहरूले कविता वाचन गरेका छन् । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य, सञ्चार संयोजक चेतनाथ धमलाका अनुसार २०० कविता मध्ये उत्कृष्ट छनौट भएका मातृभाषाका कविता वाचन गरिएको हो।

मातृभाषा विषयक संवाद कार्यक्रममा मुनाराज सेर्मा लिम्बुले नेपाली मातृभाषा साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र माथि शोभा सुनुवारले टिप्पणी गरे । सरकारी कामकाजमा मातृभाषा कार्यान्वयनमा चुनौती विषयक कार्यपत्र अमृत योञ्जनले प्रस्तुत गरे । कार्यपत्रमा डां. तारामणि राईले टिप्पणी गरे ।

प्रतिष्ठानले स्थानीय सरकारले मातृभाषा गरेका कार्यबारे उपलब्धि र चुनौती तथा मातृभाषाको संरक्षण विषयक छलफलमा धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघा, साँगुरिगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता राई, देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन मेहताले जानकारी सहित धारणा राखेका थिए । छलफलको सहजीकरण प्रतिष्ठानका प्रज्ञा सभा सदस्य विष्णु सिञ्जाली मगरले गरे ।

कार्यक्रमको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य राजन मुकारुङले गरेका थिए । यसअघि विविध आदिवासी जनजातिको सांस्कृतिक प्रदर्शन सहितको र्‍यालीले लांघाली सभाहल परिसरबाट सिरिजंगा चौकको परिक्रमा गरेको थियो ।

एक अध्ययन अनुसार विश्वमा प्रत्येक १५ दिनमा दुई वटा मातृभाषा लोप हुँदै आएको अवस्था विश्व मातृभाषा दिवसकै अवसरमा सार्वजनिक भएको छ । नेपालमा २०६६ देखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

यसअघि संयुक्त राष्ट्रसङ्घ महासभाले सन १९९९ मा ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाउने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार विश्वभर सन २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

matribhasa-diwas