लन्डन : मातृभाषाको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मातृभाषा साहित्य उत्सवको तेस्रो संस्करण भव्यतापूर्वक सम्पन्न भएको छ । उत्सवमा २० राष्ट्रभाषाका ३९ सर्जकहरूले सिर्जना सुनाएका छन् ।
आइतबार भर्चुअल रूपमा भएको उत्सवलाई विश्व नेपाली साहित्य महासङ्घको दक्षिण युके र पश्चिम युके शाखाले संयुक्त आयोजना गरेका थिए । त्यस्तै, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ युके र प्रवासी नेपाली साहित्य समाजको सह-आयोजनामा भएको उत्सवमा बेलायत, नेपाल, भारत, हङकङ, दक्षिण कोरिया, ताइवान, जापान, इजरायल लगायतका मुलुकहरूबाट मातृभाषाका सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) को अवसर पारेर आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाल (नेवारी) भाषाबाट शोभा महर्जन, हिसिलिना शाक्य, बिना नेमकुल, विनीता शाक्य, सविना महर्जन र रजनीमिला, याक्थुङ लिम्बु भाषाबाट सुवर्ण नेम्वाङ, लीला सेलिङ माबाे र काजीमान लिम्बु, थुलुङ राईबाट सर्वधन थुलुङ र सयपत्री थुलुङ, थारू भाषाबाट प्रकृति पूजा, प्रणव आकाश, शेर्पाबाट चाेमु शेर्पा, याक्खाबाट हेन्सेन याक्खाले सिर्जना सुनाए ।
त्यसैगरी, वाम्बुले राईबाट गगन वाम्बुले, तमु (गुरुङ) बाट गाैरी तमु, तेज बहादुर तमु र राेशनी तमु, काेइच सुनुवारबाट डा. लाल रापचा, तामाङबाट कविराज तामाङ र रचना माेक्तान यात्री, बान्तवा राईबाट म्यामराज राई, केवरतबाट नितीश केवरत, मगरबाट मन मास्की राना मगर, वायुङ राईबाट किशोर वायुङ राई, खस डाेटेलीबाट टेक बहादुर थापा, खस नेपालीबाट प्रतिमा केसी र दीप मंग्रान्ति र छन्त्यालबाट जित बुढाथोकी छन्त्याल लगायतले रचना सुनाए ।
उत्सवलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् आख्यानकार राजन मुकारुङले मातृभाषाको साहित्यको प्रवर्द्धनका लागि संस्थागत रूपमा भूमिका खेल्न तयार रहेको बताए । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ नेपालका अध्यक्ष समेत रहेका मुकारुङले मातृभाषामा मात्रै नभएर मातृभाषाको मनोविज्ञानमा आधारित भएर साहित्य सिर्जना गर्न सर्जकहरूलाई आग्रह गरे । त्यसैगरी विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले अस्तित्ववादी दर्शनले मातृभाषाको संरक्षण गर्न निर्देशित गर्ने कुरा राखे । उनले बहुसाँस्कृतिक समाजलाई प्रतिबिम्बित गर्न उत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको टिप्पणी गरे ।
उत्सवलाई कार्यक्रम संयोजक एवम् परिकल्पनाकार विनेसाम दक्षिण युके सचिव एवम् आदिवासी साहित्यकार/लेखक महासङ्घ जनजाति महासङ्घ युके संयोजक अमित थेबेले सञ्चालन गरे । कार्यक्रम विनेसाम दक्षिण यूकेका कावा अध्यक्ष सर्वधन थुलुङकाे सभापतित्वमा भएको थियो । स्वागत मन्तव्य पश्चिम युके कावा सचिव जित बुढाथोकी छन्त्यालले राखेका थिए ।
तीन घण्टा चलेको उत्सवमा वाचन गरिएका सिर्जनाहरू सङ्कलन गरेर कृति प्रकाशन गरिने संयोजक थेबेले जनाए । संयुक्त राष्ट्र सङ्घको सांस्कृतिक निकाय युनेस्कोको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा मातृभाषाका रूपमा बङ्गाली भाषा बोल्न पाउनुपर्छ भन्दै माग गर्दा सन् १९५२ मा त्यहाँका चार विद्यार्थीहरू मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । एथ्नोलगका अनुसार हाल विश्वमा ७,१५१ भाषाहरू बोलिने गर्छन् । तीमध्ये ४० प्रतिशत जोखिममा रहेका छन् । नेपालमा भाषा आयोगको प्रतिवेदनअनुसार १३१ भाषाहरू अस्तित्वमा छन् ।