वराहक्षेत्र : ४ दिन अगाडि काठमाडौँ पुगेका वराहक्षेत्रका लघुवित्त पीडितलाई सहयोग गर्न रासन लिएर नगर प्रमुख रमेश कार्की पुगेका छन् ।

६ दिने पैदल यात्रा गरेर लघुवित्त पीडितहरू काठमाडौँ पुगेका थिए। फाल्गुन १ गते वराहक्षेत्र घरबाट पैदल यात्रा गरेर काठमाडौँ पुगेको लघुवित्त पीडितहरूको वराहक्षेत्रबाट अगुवाइ गर्दै आएकी कल्पना राईले बताइन् ।

नेपाल सरकारसँग आफ्नो समस्या अवगत गराउन फाल्गुन ६ गते काठमाडौँ पुगेको उनले बताइन् । स्वास्थ्यमा समस्या भएर बिचल्लीमा परेका केही पीडितहरूलाई उपचार गराउन कार्यमा समेत नगर प्रमुखले सहयोग गरेको उनले बताए ।

नगर प्रमुख कार्की पीडितहरू बस्दै आएको स्थानमा पुगेर बिरामीहरूलाई अस्पताल पुर्याउने सम्म सहयोग गर्नु भएको लघुवित्त पीडित रमेला कुमारी माझीले बताइन् ।

पीडितकी अगुवा कल्पनाका अनुसार वराहक्षेत्रबाट करिब ६० जनाको संङख्यामा काठमाडौँ आई पुगेका छन् । देशभरिबाटै आफ्नो समस्या राख्न काठमाडौँ आई पुगेका लघुवित्त पीडितहरू राति सामूहिक भोजन र सामूहिक होटेलको हलमा सुत्ने गरेका छन् ।

नेपाल सरकारसँग आफ्नो समस्या पीडा राख्न काठमाडौँ आएको हामीलाई आवश्यक सहयोग र खाद्यान्न सहयोग नगर प्रमुख रमेश कार्की आउनु भएको लघुवित्त पीडित ६८ वर्षीय कुमार राईले बताए ।

नगर प्रमुख रमेश कार्कीले आफ्नो समस्या बुझेर दुई बोरा चामल, दाल, चाउचाउ लगाएका खाद्यान्न लिएर बस्दै आएको होटेलको हलमा आउनु भएको उनले बताए ।

हाल काठमाडौँमा नगरपालिकाको काम र कुम्भ मेलाको निमन्त्रणाको काममा गएका नगर प्रमुख रमेश कार्कीले काठमाडौँमा समस्यामा परेका उनीहरूलाई रासन लगायत, बिरामी पीडितहरूलाई उपचार गराउने कार्यमा सहयोग गरेको सचिवालयले जानकारी दिएको छ ।

४ दिनदेखि देशभरिबाट पीडितहरू राजधानी काठमाडौँ आएको र अरू पीडितलाई आजसम्म कतैबाट सहयोग नभएको हाम्रो वराहक्षेत्रका मेयर रमेश कार्कीले हामीलाई भेट्न आउँदा धेरै खुसी लागेको पीडितकी अगुवा कल्पना राई बताउछिन् ।

हाम्रो गाँस बासको समस्यालाई मध्यनजर नगर प्रमुख कार्कीले सहयोगले ठुलो राहत मिलेको वराहक्षेत्र-६ ठाकुरवारीबाट काठमाडौँमा आएको प्रेमकुमार विष्टले बताए ।

नगर प्रमुख हामी बसेको ठाउँमा भेट्न आएर खाद्यान्न सहयोगले दुःख बुझ्ने जनप्रतिनिधि आएको महसुस भएको पीडित राजकुमारी राई बताउछिन् ।