धरान : धरान एक्स्पो उद्योग व्यापार मेलामा यसपालि युवाहरूका लागि ट्याटु र फेस पेन्टिङ गर्ने सुविधा पनि थपिएको छ ।

स्टलमै ट्याटु खोपाउने सुविधा सहितको स्टल राखिएको हो । युवाहरूलाई फेस पेन्टिङ सिन स्टलमै गरिने सुविधा छ ।

चित्रकारद्वारा हातैले आर्ट गरेको चित्रकला घरमा सजाउने सौखिनहरूका लागि पोट्रेट, ल्याण्डस्केपहरु पनि विक्रीमा छन् ।

पाँचथरको मिक्लाजुङ स्थित सगुन फलफूल प्रशोधन उद्योगले किवी फलबाट तयार गरेको अर्ग्यानिक जुस, वाइन सहितका पेय पदार्थ सौखिनहरूका लागि उपलब्ध छ ।

गृहिणीहरूका लागि अर्ग्यानिक खाद्य वस्तु, बेसार देखी सरसफाइका साबुन लगायतका उत्पादक कम्पनीहरूबाट सुलभ मूल्यमा विक्री वितरण भइरहेका छन् ।

एक्स्पोमा नेपालमा बनेका दैनिक प्रयोगमा आउने उपयोगी वस्तु, मोटरसाइकल, घर निर्माणका प्लम्बिङ देखी इट्टा सम्मका सामाग्री बिक्री वितरण र प्रदर्शनमा छन् ।

आज धरान एक्स्पोको पहिलो दिन उद्घाटन समारोह चलिरहँदा सम्म नयाँ नयाँ कुराका स्टलहरू धमाधम सजाउने काम भइरहेका थिए।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टलको व्यवस्थापन गरिएको स्टल संयोजक विष्णु बरालले जानकारी दिएका छन् ।

धरान रङ्गशालाको तल्लो खाली ठाउँमा आयोजित एक्स्पोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज दिउँसो गरेका हुन् ।

उद्घाटन समारोहमा उनले भने ‘सङ्कुचित धारणाले धरानको विकास हुँदैन धरान बनाउन चौतर्फी विकास गरे मात्र आर्थिक समृद्धि ल्याउन सकिन्छ ।’

मन्त्री किराँतीले धरान मात्र बनाउन खोजेर नहुने बताउँदै धरान घुम्न पर्यटक आए १५ मिनेटमा धरान घुमेर सकिने बताए । उनले भने ‘१५ मिनेट धरान घुमेर यहाँको आर्थिक समृद्धि हुँदैन ।’

धरानको मात्र विकास गर्न काठमाडौँबाट प्लेन चडेर तुम्लिङटार झरेका पर्यटकलाई जलयात्राबाट चतरा हुँदै धरान ल्याउनु पर्ने उनले बताए ।

तिनजुरे मिल्के लालीगुराँस हेर्न र कोशी टप्पु, चतराको औलिया बाबा, वराहक्षेत्र मन्दिर, खोटाङको हलेसी, काँकडभिट्टा र जोगबनीका पर्यटकलाई १ रात बस्ने वातावरण बनाए मात्र धरानको विकास सँगै आर्थिक समृद्धि आउने उनको भनाई छ ।

स्थानिय उत्पादनलाई बढाउँदै,स्थानीय खानेकुराको प्रवर्द्धन गरे मात्र पर्यटक भित्रिने बताए । चिन र भारतलाई जोड्ने छोटो बाटो किमाथांका धरानको छाती भएर जाने भएकाले धरानमा पर्यटन प्रवर्द्धन गर्न सके विकासको प्रबल सम्भावना रहेको उनको भनाई छ ।

उनले भने ‘नेपालमा विकास तीव्र गतिमा भएको तर मानिस विद्युतीय गतिमा विकास होस भन्ने चाहन्छ, देश बन्दैछ संसार सँग प्रतिस्पर्धा गर्न नसकेको मात्र हो ।’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि नै विकासको कडी रहेकोले सरकारको विरोध असन्तुष्टिकै कारण भएको बताए । उनले  धरानमा पर्यटकीय गव्यका रूपमा श्रम पर्यटन थपिएको बताए ।

कोशी प्रदेश सांसद विजय राईले धरानमा एयरपोर्ट बन्छ कि बन्दैन मन्त्री ज्युले स्पष्ट गर्नु पर्ने बताउँदै भने जनतालाई भ्रममा राख्न नहुने बताए ।

च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डी ढकालले नेपालको आन्तरिक र बाह्य व्यापार अन्तर्राष्ट्रिय बजारसँग उत्पादन जोड्न सक्नु पर्ने बताए । समारोहमा सुनसरी प्रमुख जिल्ला अधिकारी जयराम आचार्य लगायतले शुभकामना दिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले सुरुङ मार्ग निर्माणमा बजेट छुटाउन मन्त्री किराँतीलाई आग्रह गरे ।

एक्सपोले धरानको व्यापार, व्यवसाय, उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने विश्वास गरिएको छ । एक्स्पोमा यसपालि १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

dharan-expo-bijay-shrestha