धरान : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा एयरपोर्ट बन्ने नबन्ने कुरामा सोधेको प्रश्नमा भनेका छन् ‘हवाई जहाज उडाउनु भनेको ट्याम्पो कुदाउनु जस्तो मात्र होइन ।’

धरान एक्स्पो उद्घाटन अघि प्रेस सेन्टरको पत्रकार भेटघाट कार्यक्रममा उनले धरानबाट हवाई जहाज चल्ने बजारको ग्यारेन्टी भएको कुरा सर्भे रिपोर्टमा आयो भने एयरपोर्ट बन्ने बताए ।

मन्त्री किराँतीले भने ‘हवाई जहाज चल्ने बजार छ भने वडै पिच्छे पनि बनाउन सरकार तयार छ तर अर्बौँ लगानी गरेर बनाएको एयरपोर्ट चल्ने ग्यारेन्टी हुनुपर्‍यो ।‘

नेपालमा होडबाजीबाट, बिना अध्ययन, अवैज्ञानिक र राजनैतिक प्रतिस्पर्धाबाट बनेका २२ वटा एयरपोर्ट अहिले नचलेको उनले बताए । विराटनगरकै एयरपोर्ट पूर्ण क्षमतामा नचलेको उनको भनाई थियो ।

धरान एयरपोर्टको अध्ययन समितिको प्रतिवेदन अन्तिम तयारीमा रहेको बताउँदै उनले भने ‘आजभन्दा २५ वर्षअघि बनाएको प्रतिवेदन र अहिले गरिएको अध्ययन एउटै हुँदैन ।’ त्यसैले पहिले अध्ययन भए पनि पुनः अध्ययन गर्नु परेको मन्त्रीले स्पष्ट गरे ।

वैज्ञानिक ढङ्गले अध्ययन गरेर मात्र एयरपोर्टको कुरा टुङ्गो लाग्ने उनको भनाई छ । उनले भने ‘कसैको दबाबले एयरपोर्ट बनाउनु चाहिँ घातक हुन्छ ।’

मन्त्री किराँतीले कोशी राजमार्गको धरान-विराटनगर ६ लेनको सडक बनेपछि ४५ मिनेटको दुरी हुने र त्यति दुरीमा एयरपोर्ट बनाउँदा त्यसले पार्ने दीर्घकालीन असर के-के हुन्छ बुझ्नु पर्ने बताए ।

उनले भने ‘विराटनगरको एयरपोर्ट नै ‘फुलफ्लेज’ मा चल्न सकेको छैन ।’ विराटनगर एयरपोर्ट पूर्ण क्षमतामा चल्न कम्तीमा पनि दिनको १०० उडान हुनुपर्ने उनले स्पष्ट गरे ।

अहिले विराटनगर एयरपोर्टबाट १८ देखि २० फ्लाइट भन्दा बढी उडान नभएको मन्त्री किराँतीले बताए । विराटनगर वरिपरि एयरपोर्ट माथि एयरपोर्ट मात्रै थप्दै लग्यो भने राज्य कहाँ पुग्छ ? उनले पत्रकारहरूसँग प्रश्न गरे ।

भने ‘यसरी नै राज्य आर्थिक रूपमा धराशायी हुँदै गएको हो ।’ कारण चाहिँ वैज्ञानिक सोच र विचार नभएरै हो भन्ने उनको भनाई थियो । अहिलेको बजारले प्रमाणित गर्‍यो भने कति किलोमिटर र कति नटिकल माइलमा एयरपोर्ट निर्माण गर्नुपर्ने त्यसको लागि नयाँ नीति बनाउने काम आफ्नो जिम्मा भएको मन्त्री किराँतीले बताए ।