इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनको लागि भएको निर्वाचन कार्यतालीका सरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको बिचमा भागबण्डा नमिल्दा निर्वाचन कार्यतालीका प्रभावित भएको हो ।

निर्वाचन समितिले निकालेको नयाँ तालीका अनुसार १९ गते हुने भनिएको मनोनयनको मिति २७ गते पुर्‍याइएको छ । ३ गते हुने भनिएको मतदानको समय सीमा यथावत् राखेर मनोनयन दर्ता र दाबी विरोधको समय घटाइएको निर्वाचन समितिका सहसंयोजक चन्द्रप्रसाद भट्टराइले बताए ।उनका अनुसार राजनीतिक दलहरूले आग्रह गरेको कारण निर्वाचन कार्यतालीका हेरफेर भएको हो ।

एमाले र काँग्रेसले प्रतिनिधि छनौट देखिनै भागबण्डा गरेर नयाँ कार्यसमिति चयन गर्ने भएका छन् । सोही अनुसार एमालेले अध्यक्ष पाउने यसअघि नै सहमति भइसकेको छ ।

एमालेबाट यामकुमार सुब्बा वा प्रेम बहादुर बस्नेत मध्ये एकलाई अध्यक्ष बनाउने तयारी भइरहेको छ । एमाले वृत्तको जानकारी अनुसार बस्नेतलाई अध्यक्ष बनाउने गरी सहमतिको प्रक्रिया अगाडी बढिरहेको छ ।

इटहरीका पुराना नेता बस्नेतलाई अध्यक्ष बनाएर महासचिव र उपाध्यक्ष काँग्रेसले लिने तयारी गरेको छ । नेपाली काँग्रेसबाट महासचिवमा बालकृष्ण विष्टको चर्चा भएपनि उनलाई उपाध्यक्ष बनाउने तयारी भइरहेको छ । विष्टलाई उपाध्यक्षमा व्यवस्थापन गर्न सहज भए इन्जिनियर भविन खड्कालाई महासचिव बनाउने गरी सहमतिको प्रक्रिया अगाडी बढेको बुझिएको छ ।

उता एमालेले भने काँग्रेसलाई महासचिव दिएर अध्यक्ष र उपाध्यक्ष आफैले पाउनुपर्ने दाबी गरेको छ । अध्यक्ष बन्नको लागि एक पटक कार्यसमितिमा काम गरेको हुनुपर्ने नियम छ । काँग्रेसले अध्यक्षको दाबी गर्न नसक्ने भएपछि महत्त्वपूर्ण पदाधिकारीमा जोड दिएको हो।

यसबिचमा सहमति नभए स्वतन्त्र उम्मेदवारी परेको अवस्थामा निर्वाचन हुने निर्वाचन समितिले बताएको छ । २२ हजार ९८ मतदाता मध्येबाट १६५ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् ।

वडाबाट निर्वाचित १६५ प्रतिनिधि, हालको कार्यसमितिमा रहेका १५ जना र लेखा समितिका ३ गरी १८३ जनाले नयाँ कार्यसमिति नयनमा प्रक्रियामा सामेल हुन पाउने छन् ।