धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मजदुरहरूलाई गरिखान नदिई मार्न खोजेको, व्यवसायीहरूलाई ‘चोर’ भनेको विरोधमा १०० को सङ्ख्यामा ट्याक्टरहरू धरान उपमहानगरपालिका अगाडि, चतरा लाइनमा राखेर चक्का जाम गरे ।
चक्काजामको कारण आज दिनभर धरान–१२ चतरा लाइनमा ट्राफिक कठिनाइ उत्पन्न भयो । उपमहानगरपालिका गेटैमा ३ वटा ट्याक्टरले बाटो जाम गरेकोले मोटरसाइकल समेत कार्यालयमा प्रवेश गर्न सकेको थिएन ।
व्यवसायीले मेयर हर्क साम्पाङले चोरको संज्ञा दिएको आरोप लगाएका छन् भने ट्र्याक्टर मजदुरले मेयर साम्पाङ सँग गरिखाने बाटो देखाइदिन माग गर्दै आज धरानमा भएका ट्याक्टरहरू नगरपालिका लाइनको सडकमा चक्काजाम गरी विरोध गरेका हुन ।
सङ्घर्ष समिति सचिव नरध्वज तामाङले भने ‘राज्यलाई कर तिर्न हामी तयार छौँ भन्दा पनि चोरको संज्ञा दिएकोमा हाम्रो आपत्ति रहेको छ ।’
मेयर साम्पाङको आदेशमा नगर प्रहरीले पक्राउ गरेको ३ वटा ट्याक्टर २४ घण्टा सम्म नछोडेपछि धरानका ट्र्याक्टर व्यवसायी आन्दोलित भएका हुन । उनीहरूले राजश्व तिरेर ढुङ्गा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगरका ट्याक्टर राखेका छन् ।
धरान ट्र्याक्टर व्यवसायी सङ्घ सर्घष समितिले शान्तिपूर्ण आन्दोलन स्वरूप ट्याक्टर राखेर धर्ना दिदैं छलफल वार्ता नभए चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । सचिव तामाङले भने ‘वार्ताका लागि नबोलाए भोली धरान भरका टिपर पनि ल्याएर ल्याएर धर्ना दिन्छौ ।’
चरणबद्ध रूपमा ढुवानीका कुनै पनि साधन धरान प्रवेश गर्न नदिने सम्मको आन्दोलनको तयारी गरिएको उनले बताए । वार्ता छलफलबाट समस्याको समाधान नभए सबै ट्याक्टर नगरपालिका परिसर मै छाडने बताइएको छ । 
तामाङले मेयर साम्पाङसँग पटक पटक भेट्दा मेयरले व्यवसायीलाई जबरजस्ती चोर बनाएकाले अबको वार्तामा मेयरको मात्र एकल निर्णय मान्य नहुने बताए । स्थानीय व्यवसायी सँग सिङ्गो कार्यपालिकाको बैठकले निर्णय मात्र मान्य हुने भन्दै अबको वार्ता छलफल सम्पूर्ण कार्यपालिका सदस्यहरूसँग मात्र हुने सचिव तामाङको भनाई छ ।
उनले भने व्यवसायीहरू धरानकै स्थानिय भएकाले खोला ठेक्का प्रक्रियाको विरोधी समेत रहेको बताउँदै उनले धरानको ३ वटा खोलाहरू सर्दु ,सेउती ,सेरा लगायतका खोलाहरूलाई भूक्षय नहुने गरी स्थानीय सरकारले मापदण्ड बनाई स्थानीय व्यवसायीलाई गरी खाने वातावरण बनाउन मुख्य माग भएको उल्लेख गरे ।
ट्याक्टर व्यवसायी मेसिन प्रयोग नगरी हातले बोल्चा चलाएर खोलामा काम गर्ने पक्षमा रहेको उनको भनाइछ । तामाङले भने ‘मजदुर र मालिक बाच्ने गरी खोलाबाट ढुङ्गा, गिट्टी बालुवा निकाल्न पाउनु पर्ने हाम्रो माग हो ।’
मेयर साम्पाङलाई धरान ट्र्याक्टर व्यवसायी सङ्घले दिएको २४ घण्टे अल्टिमेटम सकिएकोले उनीहरू आन्दोलित भएको बताइएको छ ।
मेयर साम्पाङले गरिखाने व्यवसायीहरूलाई मुले नाथे मात्र सम्झेको भन्दै सचिव तामाङले भने ‘गरिखाने मान्छेलाई गरिखान दिनुपर्‍यो नत्र धरानमा भएका सबै व्यवसायीहरूको ट्याक्टर किनिदिनु पर्‍यो ।’
धरान उपमहानगरपालिकाको भने तत्काल आधिकारिक धारणा केही सार्वजनिक भएको छैन । प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले ‘मेयर सावकाे धारण के हो थाहा नभएको बताइन । उनले मेयर साम्पाङ कार्य व्यस्तताले बाहिर भएकोले सम्भवतः तत्काल वार्ता छलफल नहुने बताइन ।
tractor-jam-2
tractor-andalon-2