धरान : बर्जू गाउँपालिकामा हिजो चैत्र ४ गते भएको आगलागीबाट पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले राहत सामग्री हस्तान्तरण गरेको छ ।

बर्जू गाउँपालिकाको वडा नं. ४ स्थित जयनगर टोलमा भएको आगलागीबाट पीडित १६ घर परिवारलाई राहत सामग्री प्रदान गरिएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए ।

जयनगर टोलका स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको थियो । अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन् ।

आगालागिमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको थियो ।

रेडक्रसको राहत सामग्रीमा कम्बल, बाल्टी, भाँडा, डोरी, झुल, म्याट, त्रिपाल, डिग्नीटी किट, धोती र कपडा सहितको सामग्री सेट रहेको सभापति थापाले जानकारी दिए ।

आगलागीबाट पीडित १६ घर परिवार गाउँपालिकाको समन्वयमा राहत सामग्री वितरण गरिएको हो । 

राहत सामग्री वितरण कार्यक्रममा रेडक्रस सुनसरीका सभापति उमेश थापा, बर्जू गाउँपालिका कार्यवाहक अध्यक्ष नितुकुमारी चौधरी, कोशी प्रदेश सभा सदस्य रामदेव मेहता राहत वितरण, पूर्व बर्जू गाउँपालिका अध्यक्ष रधुनन्दन चौधरी लगायतको उपस्थिति रहेको थियो ।

redcross-3aagalagi-barju