धरान : घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान गरेको छ ।

तालिमको सोमवार समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ममता तामाङ योञ्जनले उद्यमबाट स्वरोजगार बन्न सिकाई महत्त्वपूर्ण रहेको बताउँदै भनिन् ‘महिना दिन सम्म सिकेको सिपलाई महिलाहरूले सदुपयोग गरी आत्मनिर्भर हुन जरुरी छ ।’

तालिम लिन पाउँदा मात्र खुशी हुने होइन सिकेको सिपलाई परिणाममुखी बनाउनु मुख्य कुरा भएको बताइन ।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा राज्यले गरेको लगानीलाई परिमाणमुखी बनाई नागरिकले सिकेको सीपबाट दक्षता हासिल गरी स्वरोजगार बनाउनु राज्यको जुनसुकै तहको कर्तव्य रहेको बताए ।

उनले भने ‘राज्यको कुनै तहमा जागिर खानु मात्र रोजगार होइन ।’ तालिमबाट प्राप्त योग्यता क्षमताको आधारमा स्वरोजगार हुनु मुलुकको आर्थिक विकासको लागि महत्त्वपूर्ण भएको बताए ।

तालिमको समन्वय सुनसरी उद्योग वाणिज्य सङ्घले गरेको हो । सङ्घको हलमा भएको तालिममा सहभागीहरूलाई सुशीला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।

समापन कार्यक्रमको सभापतित्व घरेलु  तथा साना उद्योग कार्यालय प्रमुख हरि लामिछानेले गरेका थिए । सञ्चालन उद्योग वाणिज्य सङ्घ सुनसरीका महासचिव महेन्द्र प्रधानले गरेका थिए ।

beautyparolr-trainting