इटहरी : राष्ट्रिय माध्यमिक विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर कार्की सहित सदस्यहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न ५१ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।

इटहरी-१ स्थित विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले उक्त रकम छात्रवृत्ति कोषलाई प्रदान गरिएको बताए । उनका अनुसार विद्यालयको छात्रवृत्ति अक्षयकोष २० लाख रुपैयाँ पुर्‍याउन थालिएको अभियानको लक्ष्य पूरा हुने अवस्थामा रहेको छ ।

कार्यक्रममा ३ वर्षे कार्यकाल बिताएका व्यवस्थापन समिति अध्यक्ष कार्की सहित सदस्यहरू नारायणप्रसाद खनाल, एलिसा खनाल, निर्मला कट्टेल, लिलादेवी रम्तेल र मीनकुमार मगरलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर नयाँ अध्यक्ष कोविदजंग कार्कीले सम्मान गरे।

पूर्व प्रधानाध्यापक लोकेन्द्र काफ्लेले विद्यालयमा कक्षा ७ पुरा गरेकी विपन्न परिवारकी जेहेन्दार छात्रा नीता कार्कीलाई नगद २० हजार रुपैयाँ प्रदान गरे ।

विद्यालयले व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरू, सरुवा भएका, राजीनामा दिएका शिक्षकहरू र कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम आयोजना गरेको हो ।

उक्त अवसरमा शिक्षकहरू सुरेश धमला, देवकुमारी राई लगायतलाई बिदाइ गरियो । कक्षा १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहका विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बिदाइ गरेका हुन् ।

वालविकास देखि कक्षा ९ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पठनपाठन हुने गरेको छ ।

rastriya-MAVI-3