इटहरी : इटहरीको उत्कृष्ट मध्येको एक सरकारी विद्यालय हो राष्ट्रिय माध्यमिक विद्यालय । इटहरी-१ मा सञ्चालित राष्ट्रिय माविले बुधवार ६८ औँ वार्षिकोत्सवको सम्पन्न गरेको छ । प्राविधिक धारमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ समेत पढाउँदै आएको माविले आगामी शैक्षिक सत्रदेखि होटेल म्यानेजमेन्ट र जीव विज्ञान विषय समेत पठनपाठन सुरु गर्ने भएको हो ।

सिपयुक्त शिक्षामा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको भन्दै विद्यालयलाई समयानुसार रूपान्तरण गर्दै लैजाने प्रधानाध्यापक सरन कुमार बस्नेतले बताएका छन् । सिपयुक्त शिक्षा आजको आवश्यकता भइसकेकाले त्यसै अनुसार विद्यालयको पठनपाठन अगाडी बढाउन लागिएको उनको भनाइ छ ।

वार्षिकोत्सवको अवसरमा बाल विकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने ६७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।  दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको हो ।

विद्यालयले इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलका बाबु-आमा शेरबहादुर पौडेल र रेणुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै विभिन्न दाताले आफ्ना आफन्तको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीलाई सम्मानित गरिएको हो ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जना दातालाई सम्मान गरिएको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

उनका अनुसार सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी लगायत रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङलाई नगदसहित सम्मान गरिएको हो । इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख फाल्गुनी काफ्लेले समेत विद्यालयको तर्फबाट सम्मान पत्र प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक आय-व्ययको हिसाबमा आन्तरिक र बाह्य गरी विद्यालयको वार्षिक आम्दानी ५ करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र खर्च ५ करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ देखिएको छ।

Rastriya MAVI itahari 3