विराटनगर : सुख्खा मौसम सुरु भएसँगै आगलागीका जोखिम बढेको छ । कुनै पनि बेला हुनसक्ने आगलागीका घट्नालाई ध्यानमा राखेर महानगरपालिकाको वारुणयन्त्र तयारी अवस्थामा राख्न मेयर नागेश कोइरालाले मङ्गलवार अनुगमन गरेका छन् ।

विराटनगर–३ स्थित महानगरपालिकाको वारुणयन्त्र स्थलमा पुगेर उनले दमकल सवारीको निरीक्षण समेत गर्दै आगलागीको जोखिमप्रति सतर्क रहन निर्देशन दिएका छन् ।

मेयर कोइरालाले आगलागीको खबर आएको १ सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न वारुणयन्त्र कर्मचारीलाई निर्देशन दिएका हुन् ।

महानगरपालिकासँग ३ वटा दमकल छ । ५ हजार लिटर क्षमताको २ वटा र ३ हजार क्षमताको १ दमकल मध्ये ५ हजार लिटरका दुई वटा पुष्पलालचोकमा राख्ने गरिएको छ । ३ हजार लिटरको विराटनगर-१४ जतुवा स्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको छ ।  

अनुगमनको क्रममा उनले सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको बताउँदै यो मौसममा दमकलको अवस्था चुस्त दुरुस्त रहनु पर्ने बताए ।

मेयर कोइरालालाई वारुणयन्त्र समेतको जिम्मेवारीमा रहेका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्था चुस्त दुरुस्त रहेको जानकारी गराए ।

दमकलमा पानी भर्न महानगरपालिकाले पछिल्लो पटक सन्सारी माईस्थानमा डिप बोरिङ बेल स्थापना गरेको छ । हाल पुष्पलालचोक, महानगरपालिका परिसर, सन्सारी माईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ ।

महानगर क्षेत्रमा ८ ठाउँबाट पानी भर्ने व्यवस्था मिलाइरहेको मेयर कोइरालाले बताए ।  अनुगमनका क्रममा वडा ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया पनि सहभागी थिए ।