धरान : प्रहरीले मिनी ट्रकमा राखेर हिजो मङ्गलवार राती भारतीय सिमानाका तर्फ लैजाँदै गरेको ४४० किलोग्राम लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले सुनसरीको देवानगञ्ज-५ मा पक्राउ गरेको छ ।

मिनी ट्रकमा गाँजासँगै पक्राउ पर्नेमा चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ वर्षीय चन्द्रबहादुर पाख्रिन, ट्रकमा सवार लेटाङ नगरपालिका-६ का बलबहादुर लिम्बु र देवानगञ्ज-४ का ३० वर्षीय अरविन्द पाल छन् ।

उनीहरूको साथबाट प्रहरीले भारु १ लाख ५० हजार, नेरु ५२ हजार र ५ थान मोबाइल सेट पनि बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी अनुसार ठुलो परिमाणमा गाँजा लोड गरेर मिनिट्रक सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ गइरहेको थियो । उक्त इलाका नेपाल-भारत सिमाना क्षेत्रमा पर्दछ ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा राती नै इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज-५ मेहता टोलको भित्री सडक खण्डमा को १ ख ७१२३ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको हो ।

यसैगरी विराटनगर-१७ आईसिपी रोडमा प्रदेश १-०२-०२ च ६३३१ नम्बरको काँचो केरा बोकेको पिकअप भ्यानबाट २५० केजी गाँजा सहित चालक शहिदभुमी गाउँपालिका-३ धनकुटाका १८ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले उक्त पिकअप भ्यानबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।