धरान : इन्टरपोल पुलिसबाट ज्यान सम्बन्धी र विद्युतीय कारोबार कसुरको मुद्दामा रेड नोटिस जारी भएको आधारमा प्रहरीले २ जना फरार नेपालीलाई युएईमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको लेटाङ-३ का ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ का २३ वर्षीय सन्तोष न्यौपाने छन् । युएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
पक्राउ परेका बलबहादुर लिम्बु उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी वैदेशिक रोजगारमा युएईमा रहेका खुल्न आएकोले इन्टरपोल मार्फत उनको खोजी भएको हो ।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गर्न इलाका प्रहरी कार्यालय लेटाङले अनुरोध गरेको आधारमा एनसिबि काठमाण्डौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।
त्यसैगरी पक्राउ परेका सन्तोष न्यौपाने उपर विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाण्डौंबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी वैदेशिक रोजगारीमा युएईमा भएको खुलेपछि इन्टरपोल मार्फत उनको खोजी भएको हो ।
उनलाई पक्राउ गर्न साइबर ब्युरोबाट अनुरोध भएपछि एनसिबि काठमाण्डौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।
लिम्बुलाई इलाका प्रहरी कार्यालय लेटाङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान तथा कारबाही लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।