विराटनगर : विराटनगर बरगाछी-रानी सडक सौन्दर्यीकरण परियोजनामा पछिल्लो पटक सोमबार सानिमा बैङ्कले २ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रममा हाल सम्म ७ वटा बैङ्कहरूबाट १२ लाख रुपैयाँ जम्मा भएको छ । सडकको सौन्दर्यीकरण परियोजनाको लागत ५५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

महानगरपालिका सभाहलमा एक कार्यक्रम बिच मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलाई सानिमा बैङ्कले २ लाखको चेक हस्तान्तरण गरेको हो ।

बैङ्कका प्रदेश प्रमुख फनिन्द्र दाहाल, शाखा प्रमुख महेश निरौला र कञ्चनबारी शाखा प्रमुख प्रसन्न गजुरेलले उक्त रकमको चेक हस्तान्तरण गरे ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैङ्क, ग्लोबल आइएमई, कुमारी बैङ्क र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम प्रदान गरिसकेको छ । विराटनगरमा ४२ वटा बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

महानगरपालिकाले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको छ ।

समितिले फूल र बिरुवाको जात, लागत अनुमान लगायतको महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनका आधारमा सौन्दर्यीकरणको प्रक्रिया अघि बढाएको मेयर कोइरालाले जानकारी दिए ।