विराटनगर : विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ ।

सिक्किमको एमजी रोडको नमुनाका रूपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउने लगायतको सौन्दर्यीकरणको काम तीव्र रूपमा भइरहेको छ ।

सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नमुनामा बनाउनु हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन् । तर, महानगरको ठुलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताए । “अब हामी यो रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौँ,” मेयर कोइरालाले भने, “त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छु ।”

मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीन पटक अनुगमन समेत गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो । 

जिल्ला प्रशासन अगाडिको पार्किङ समस्या समाधान गरिँदै 

यसैबिच, महानगरले जिल्ला प्रशासन मोरङ अगाडि देखिँदै आएको पार्किङ समस्या समाधान गर्ने भएको छ । त्यसका लागि प्रशासनको गेट दक्षिण तथा शहीद रङ्गशाला उत्तरमा रहेको खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न महानगरले सफाइ सुरु गरेको छ । सो ठाउँमा मोटरसाइकल र साइकल पार्किङ गरिनेछ । जसबाट प्रशासन चोकसहित आसपासको क्षेत्रमा देखिँदै आएको पार्किङ समस्या समाधान हुने महानगरको विश्वास छ । जिल्ला प्रशासनमा आउने सेवाग्राहीले सवारी पार्किङ गर्ने स्थान नहुँदा समस्या झेल्दै आएका थिए ।