इटहरी : नेकपा एमाले रामधुनी नगर कमिटीले नगरपालिकामा बारम्बार सूचना उपलब्ध गराउन माग गरेको भन्दै आपत्ति जनाएको छ । रामधुनी नगरपालिकाको विषयमा ६ राजनीतिक दल र झुम्का उद्योग वाणिज्य सङ्घले सूचना माग गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

एमाले नगर अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काले प्रेस वक्तव्य जारी गर्दै अनुचित माग राखेर घेराबन्दी नगर्न दबाब दिएका छन् । नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना माग गरेका राजनैतिक दलहरू तथा उद्योग वाणिज्य सङ्घलाई पूर्वाग्रह नराख्न एमालेले चेतावनी दिएको छ ।

एमाले पार्टीबाट निर्वाचित मेयर र उपमेयर लगायत जनप्रतिनिधिमाथि राजनीतिक पूर्वाग्रहका आधारमा व्यवहार भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

पटक पटक सूचना उपलब्ध गराउँदासमेत अनावश्यक प्रचारप्रसार गरेर समाजमा भ्रम फैलाउने समाचार मिडियामा आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि कपुरी न्यूजले रामधुनी नगरपालिकाले १० महिनामा सवारी मर्मत र इन्धनमा मात्र ५७ लाख खर्च गरेको समाचार सार्वजनिक गर्‍यो । त्यसपछि सूचना उपलब्ध नगराएको विषयमा अनियमितता बाहिरिने डरले सूचना लुकाएको विषयमा कपुरीले रिपोर्टिङ गरेको हो ।

सोही विषयलाई लिएर रामधुनी एमालेले प्रेस वक्तव्य जारी गरेको छ । सूचना नदिएको भन्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र झुम्का उद्योग वाणिज्य सङ्घले संयुक्त विज्ञप्ति नै निकालेर तत्काल सूचना उपलब्ध गराउन माग गरेका थिए ।

रामुधनी नगरपालिकाले उपलब्ध गराएको सूचना अपुष्ट भएको भन्दै राजनैतिक दलहरू तथा उद्योग वाणिज्य सङ्घले मेयरको नियत माथि प्रश्न उठाएका छन् ।

Ramdhuni-UML