विराटनगर : नेपाल-भारत सीमाक्षेत्रमा हुने गरेको अवैध तस्करी व्यापार, लागुऔषध ओसार पसार, महिला मानव बेचबिखन कोशी प्रदेशको मुख्य सुरक्षा चुनौती भएको २ दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीले निष्कर्ष निकालेको छ ।

विराटनगर स्थित विग होटेलमा आइतबार र सोमवार भएको गोष्ठीमा प्रदेशको १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको विद्यमान शान्ति सुरक्षाका समस्या र चुनौतीको स्थिति प्रस्तुत गरेका थिए । गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश सुरक्षा निकाय प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी थिए ।

गोष्ठी सङ्घीय सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि थिए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीको प्रलोभन दिएर गरिने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्तचित्त भई लाग्न आग्रह गरे । लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छली, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मेवार निकायहरूले सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लागूपदार्थ दुर्व्यसन यस प्रदेशको ठुलो समस्याको रूपमा देखा परेकोले यसको नियन्त्रणका लागि सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने ‘दुर्व्यसन विरुद्ध विशेष अभियानका साथ स्कुल प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सरोकारवाला निकायहरूलाई आह्वान गर्दछु ।’

गृह सचिव एकनारायण अर्यालले मानव बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा जोड दिए ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र सांस्कृतिक विकासको क्षेत्रमा लक्ष्यीत भई प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।

गोष्ठीमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, गृह मन्त्रालयका सहसचिवहरू नारायण प्रसाद भट्टराई, भीष्म कुमार भूसाल र थानेश्वर गौतमले आफ्ना भनाई राखेका थिए ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।Koshi-Province-meeting-2