• अनुसा थापा

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्णसँगै विश्वकै राम्रो मुलुकमध्ये एक पनि हो । यहाँको प्राकृतिक सौन्दर्ययतादेखि हावापानी सबै राम्रो र गुणस्तरीय छ । नेपाल जलस्रोतको दोस्रो धनी मुलुक पनि हो । यहाँ विश्वमै नपाइने जडीबुटीहरू पनि पाइन्छ । यति मात्र होइन यहाँ खेतीयोग्य जमिन पनि उत्तिकै छ ।

विभिन्न देशमा मरुभूमि छ । उत्पादन योग्य जमिन छैन । तर, हाम्रो देशमा खेतीयोग्य जमिन छ । त्यसमा खेतीपाती गरिएमा राम्रो उत्पादन हुनसक्छ । नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथादेखि नदीनाला, विश्व सम्पदा सूचीमा परेका मठमन्दिरहरू पनि छन् । हाम्रो देश खाद्यान्नदेखि हरेक कुरामा आत्मनिर्भर बन्न सक्ने खालको मुलुक छ ।

विडम्बना, हामी अहिले कुनै पनि वस्तुमा आत्मनिर्भर छैनौँ । हरेक वस्तु हामी विदेशबाट आयात गर्छौ । अझ भन्नुपर्दा त पानी समेत यहाँ विदेशबाट आयात गरिन्छ । अन्य मरुभूमि मुलुकहरू निकै विकसित भइसकेका छन् । नेपाल पनि प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेकोले यहाँ ती मुलुकभन्दा छिटो र राम्रो विकास हुनुपर्ने थियो ।

यद्यपि, त्यस्तो छैन । यहाँ विकासको गति कछुवाको हिँडाई भन्दा पनि ढिलो छ । चार दशक अघिसम्म नेपालले विभिन्न देशहरूलाई खाद्यान्न अनुदानमा दिन्थ्यो । विश्वमा नेपालीहरूलाई बहादुर भनेर चिनिन्थ्यो । दशकअघि केही नभएका देशहरू आज विकसित छन् । ती देशमा जान हामी नेपालीहरू अहिले लाखौँ खर्चिन्छौँ ।

मरुभूमिजस्तो मुलुकलाई समेत त्यहाँका नेताहरूले विश्वकै उत्कृष्ट मुलुक बनाए । उनीहरूले अर्काका देशका जनतालाई भित्राएर आफ्नो देश विकास गरे । विडम्बना, हाम्रा देशका नेताहरूले विकासको कुरा नगरौँ, आफ्नै जन्मभूमिको भूभाग समेत बचाउन सकेनन् । छिमेकी मुलुक चीन र भारतले नेपालको देश भूभाग कब्जा गरिसकेको छ ।

नेपाल चीन र भारतको बिचमा छ । त्यसमाथि चीन र भारत भौगोलिक रूपमै नेपालभन्दा कयौँ गुण ठुलो छ । तर, ठुलो देश भएपनि उनीहरूले हाम्रो भूभाग माथि नजर लगाए । कब्जा गरे र अझै गर्न खोजिरहेका छन् । भारत र चीनले २०४६ सालअघि र पछि नै नेपालको धेरै भूभाग कब्जा गर्‍यो ।

हाम्रा देशका राजनीतिक दलका नेताहरूले पनि भारत र चीनसँग वार्ता गरेर आफ्नो देशको भूभाग फिर्ता ल्याउन सकेका छैनन् । नेता देश र जनताको लिडर हो । ऊ राष्ट्रको सुरक्षाकर्ता हो भने जनताको अभिभावक ।

कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । यद्यपि, उनी देश र जनताको लागि जोसँग पनि बोल्न सक्ने आँट भएको व्यक्ति भनेर जनता नै बताउँछन् । त्यस्तै, मनमोहन अधिकारी पनि कसैसँग नडराउने व्यक्ति हुन् । गिरिजाप्रसाद कोइराला र सुशीला कोइराला पनि भारत र चीनको विरोधमा खुलेर विरोध गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् ।

यी चार जना भारत र चीनका प्रधानमन्त्री वा राष्ट्रपतिसँग आफ्नो देश र जनताको लागि निर्धक्क भएर कुरा राख्न सक्ने व्यक्ति हुन् भनेर सर्वसाधारण भन्छन् । नेपालबाट जति पनि प्रधानमन्त्री भारत र चीन भ्रमणमा गए । उनीहरूले आफ्नो देशको कब्जा गरेको भूभाग फिर्ता ल्याउन केही प्रयास नै गरेनन् ।

तत्कालीन प्रधानमन्त्रीहरू झालनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल, केपीशर्मा ओली, शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक पटक भारत र चीन भ्रमणमा भइसकेका छन् । यिनीहरूको भ्रमणमा जनताले करोडौँ कर खर्चिनुका सार्थ भारत र चीनका प्रधानमन्त्री, राष्ट्रपतिसँग फोटो खिचेर आउनुबाहेक केही उपलब्धि भएको छैन ।

सयौँ वर्षअघि नेपालको जनसङ्ख्या करोडको हाराहारीमा पनि थिएन । त्यति बेला नेपालको भूभाग धेरै थियो, जनसङ्ख्या थोरै थियो । अहिले मुलुकको जनसङ्ख्या झन्डै तीन करोड पुगेको छ । तर, भूभाग भने घट्दै गएको छ । अर्कोतर्फ भूभाग अथवा जमिन नभएपछि उत्पादन के मा गर्ने ? अहिले देशमा खाने मुख प्रत्येक दिन बढ्दै गएको छ त उत्पादन हुने जमिन घट्दै ।

भारत र चीनले त नेपालको अधिकांश भूभाग कब्जा गर्‍यो नै तर सरकारले बाँकी भएको खेतीयोग्य जमिनमा समेत घर बनाउन दिएको छ । दलाली, भूमाफियाहरूले आनाको पाँच हजार नपर्ने खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाकै ६०-७० लाखमा बेचिदिए । हाम्रो देशको खेतीयोग्य जमिन सबै घर र बाटो बनाउँदा मासिसकेको छ ।

अहिले नेपाल कुनै पनि वस्तुमा आत्मनिर्भर छैन । विदेशले खाद्यान्न निर्यातमा रोक लगाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने स्थिति छ । यता, सर्वसाधारण जनताले पनि एउटै घरमा करोडदेखि अर्बसम्म लगानी गरेका छन् । एउटै सवारीसाधनमा लाखदेखि करोड लगानी गरिएको छ । सेयरमा पनि लाखौँ सर्वसाधारणको खर्बौँ लगानी छ ।

यहाँ नेता त मूर्ख भए नै तर जनतामा समेत के काम गर्न हुने र के गर्न नहुने चेतना भएन । अहिले शिक्षित व्यक्तिहरू नै घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा नराम्ररी डुबेका छन् । हामीले घर बनाउँदा, गाडी किन्दा भारत र चीनलाई फाइदा भएको छ । किनकि यहाँ नुनदेखि सुनसम्म भारत र चीनसँग आयात गरिन्छ ।

अहिले हाम्रो भान्सामा पाक्ने तरकारी पनि भारत र चीनबाटै आएको हो । यहाँका कृषकहरू पलायन हुँदै गएका छन् । गाउँमा खेतबारी बाँझो छ त सहरमा घरैघर । अनि नेपाली युवाहरू रोजगारीका लागि बिदेसी रहेका छन् । जबकि भारतीयहरू भने यहाँ आएर विभिन्न व्यापार व्यवसाय गरी यहाँको पैसा आफ्नो देश लगिरहेका छन् ।

हाम्रा देशका राजनीतिक दलका नेतादेखि सरकारमा बस्नेहरूले पनि देश र जनताको लागि केही गर्न सकेनन् । उनीहरू भारत र चीनको गुलाम बनेका छन् । नेताहरू विदेशीको गुलाम बन्दा हामी जनता चाहिँ ऋण लिएर भएपनि घरजग्गा, गाडी र सेयर किन्नतिर लाग्यौँ । अनि आफ्ना छोराछोरीलाई लाखौँ खर्चिएर पढाउने बहानामा अमेरिका, अस्ट्रेलियाजस्ता विकसित मुलुक पठायौँ ।

सरकारी कर्मचारी र नेताहरूले नेपाल नै बेचेर विदेशीसँग २७ खर्ब ऋण लिइसके । अहिले हरेक नेपालीको टाउकोमा लाखौँ विदेशी ऋण छ । तर, हामी अहिले पनि मेरो घर, मेरो गाडी, मेरो सेयर भन्छौँ । भोलि विदेशीले देशै कब्जा गरेपछि कसरी त्यो घर, गाडी र सेयर आफ्नो हुन्छ ? जब देश नै आफ्नो रहँदैन, तब देशभित्र भएको वस्तु कसरी आफ्नो हुनसक्छ ?

यद्यपि, हामी सर्वसाधारणले यो कुरा बुझ्न सकेका छौँ । अहिले पढेलेखेका नेपाली युवाहरू अमेरिका, अस्ट्रेलियामा छन् त नपढेकाहरू खाडी मुलुक । देशमा दलका कार्यकर्ता मात्रै छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वसाधारणको सहजताका लागि महानगरबाट कवाडी हटाउन खोजे तर राजनीतिक दलहरूले दिएनन् ।

यता, न्यूरोडमा फुटपाथ बनाउन खोज्दा समेत बालनेलाई दलहरूले नै असफल बनाए । राजनीतिक दलहरू न आफू काम गर्छन् न त अरूलाई नै गर्न दिन्छन् । यता, नेपालको भूमि भारत र चीनले कब्जा गर्दा नेपाली सेना टुलुटुलु रमिता हेरेर बसिरहेको छ । अहिले सर्वसाधारण जनता प्रधानसेनापति प्रभुराम शर्मालाई सोध्छन्, ‘नेपालको भूभाग भारत र चीनले कब्जा गरिसक्यो । नेताहरूले देश बेचिसके । अनि नेपाली सेना किन मूकदर्शक भएर बसिरहेको छ ?’

सेनामा जागिर खाँदा देश र जनताको सुरक्षा गर्छौ भनेर कसम खुवाइन्छ वा खाइन्छ । तर, नेपाली सेनाले यो कसम पनि बिर्सिएको जस्तो देखिएको छ । किनकि नेता र कर्मचारीले मिलेर देश सकाउँदा सेना निरीह भएर बसिरहेको छ । सेनाले पनि जनताले तिरेकै करबाट तलब भत्ता खान्छन् ।

सर्वसाधारण भन्छन्, ‘अब सेनाले कि त देश र जनताको सुरक्षा गर्न सक्नुपर्छ होइन भने देश र जनताको लागि भार बन्नुहुन्न ।’ नेपाली सेना गौरवमय सङ्गठन हो । त्यसैले, उसले आफ्नो जिम्मेवारी पनि निभाउनुपर्छ । देश र जनताको सुरक्षा गर्नुपर्छ । नभए नैतिकताकै आधारमा भएपछि जागिर छोड्नुपर्छ । किनकि जनताले तिरेको करमा मोज मस्ती गर्ने अधिकार न त नेता र कर्मचारीलाई छ न त सेनालाई नै ।