इटहरी : महिला सञ्चारकर्मी सञ्चिता धमलालाई प्रहरी बोलाएर घाइते हुने गरी लछार पछार गरिएको घट्नालाई पत्रकारहरूका ४ वटा सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने प्रयास भएको ठहर गरेको छ ।
घटना लगत्तै शुक्रवार साँझ संयुक्त वक्तव्य जारी गर्दै सुनसरीका प्रेस चौतारी नेपाल अध्यक्ष सुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सभापति ध्रुव ढकाल, प्रेस सेन्टर नेपालका तीर्थ कार्की, समाजवादी प्रेस सङ्गठनका कोशी प्रदेश सचिव भोला श्रेष्ठद्वारा जारी संयुक्त व्यक्तव्यमा उक्त कुरा उल्लेख छ ।
संविधानको धारा १८ (२) (क) मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘नगर प्रमुख हर्कराज राईले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको हाम्रो ठम्याई छ ।’
नगर प्रमुख राईको निर्देशनमा सत्य तथ्य नबुझी सञ्चारकर्मी सञ्जिता धमलामाथि नेपाल प्रहरीले गरेर हातपात गरेको घट्नामा धमलाको चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोट पटक लागेको घट्नाको भर्त्सना गरिएको छ ।



































































