धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्चिता धमलालाई आज दिउँसो प्रहरीले हातपात गरी लछार पछार गरेको घट्नाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी रामचन्द्रले तिवारीले छानबिन समिति गठन गरेका छन् ।

सञ्चारकर्मी धमलालाई धरपकड गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख बेदराज फुयाँलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीनराज भण्डारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता भण्डारीले बताए ।

घटना लगत्तै नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा पुगेको सञ्चारकर्मीहरूसँग जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाबाट आएका डिएसपी प्रवक्ता नवीनराज भण्डारीले घट्नाको जानकारी लिएका थिए ।

उनले घट्नाको छानबिन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन आज नै जिल्ला स्तरीय छानबिन समिति गठन हुने बताएका थिए । उनले भने ‘घट्नाको खबर पाए लगत्तै प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार पीडित पक्ष, संलग्न प्रहरीको विषयमा तथ्य बुझ्न आएको हुँ ।’

इलाका प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईको उपस्थितिमा सञ्चारकर्मीहरूसँग घटना विवरणको जानकारी लिँदै उनले घट्नामा इलाका प्रहरी अन्तर्गतका प्रहरीको संलग्न भएको देखिए छानबिनको दायरामा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राई पनि पर्न सक्ने बताए ।

नियम अनुसार छानबिन समिति गठन भएमा डिएसपी राई इलाका प्रहरी प्रमुखको दायित्वबाट निलम्बनमा पर्न सक्छन् । घट्नामा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सञ्चारकर्मीलाई घाइते हुने गरी लछार पछार गरेको थियो ।

पीडित सञ्चारकर्मी सञ्जिता धमलाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आदेशमा उनको कार्यकक्षमा प्रवेश गरी प्रहरी समेतले आफूलाई चोटपटक लाग्ने गरी हातपात गरेर लछार पछार गरेको जिल्ला प्रहरी कार्यालयबाट आएका डिएसपीलाई बयान दिएकी छन् ।

धमलालाई बुधवार भएको सार्वजनिक सुनवाइ कार्यक्रममा सोधेको प्रश्नको बारेमा मेयर साम्पाङ सामाजिक सञ्जालमा पटक पटक स्ट्याटस लेखेर बोलाएका थिए । उनले भनिन् ‘मेयर साबको इज्जतका लागि म उपमहानगरपालिका गएकी थिएँ ।’

कार्यकक्षमा मेयर साम्पाङले गरेको प्रश्नको जवाफ दिदैं प्रतिपश्च गर्दा उनले अभद्र भाषा प्रयोग गरेको उनले बताइन । सवाल जवाफकै क्रममा मेयर साम्पाङ ‘चेम्बर’ प्रवेश गरी इलाका प्रहरी कार्यालयबाट प्रहरी बोलाएको उनको भनाई छ ।

प्रहरी नगर प्रमुखको कक्षमा प्रवेश गर्ने बित्तिकै मेयर साम्पाङले ‘यसलाई घिसारेर बाहिर निकाल’ भनी आदेश दिएको धमलाको भनाई छ । उनले ‘मलाई निकाल्नु पर्दैन म आफै जान्छु’ भन्दा भन्दै सेण्डल पनि लगाउन नदिई कार्य कक्ष भित्रै हातपात गर्दा शरीर र हातमा चोट लागेको उनले बताइन । प्रहरी र नगर प्रहरी मिलेर उनलाई लछार पछार गरिएको थियो ।

हातपात लछार पछारबाट घाइते भएकी सञ्चारकर्मी धमलाको ‘घाउ जाँच’ आजै इलाका प्रहरी कार्यालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराएको छ । घट्नामा संलग्न दोषीलाई कारबाहीका लागि पीडित पक्षबाट आइतबार किटानी जाहेरी दर्ता गराइने भएको छ ।

इलाका प्रहरी कार्यालय पुगेका पत्रकार महासङ्घको टोलीले दोषी उपर तत्काल कानुनी कारबाही नभए सञ्चारकर्मीहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरूले सरोकारका विषयमा नागरिक समेतले जिम्मेदार पदाधिकारीलाई प्रश्न गर्न पाउने अधिकार भएको संवैधानिक हकमा बन्देज लगाउन खोजिएको आरोप लगाएका छन् ।

सञ्चारकर्मी, पत्रकारहरू असुरक्षित भएको आवाज उठिरहेको बेला नगर प्रमुखकै कार्य कक्षमा प्रहरीबाटै सञ्चारकर्मी असुरक्षित भएको घटना हुनु घोर भर्त्सना योग्य भएको उनीहरूले बताए । इलाका प्रहरी कार्यालय पुगेका पत्रकारहरूमा महासङ्घका पूर्व अध्यक्षद्वय हर्ष सुब्बा, राजेश विद्रोही, महासङ्घका सल्लाहकार सन्तोष काफ्ले सहित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल सहितका सञ्चारकर्मीहरू थिए ।

सञ्चारकर्मी धमलाले मेयर साम्पाङले पटक पटक सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो चरित्रहत्या गरेको आरोप लगाएकी छिन ।

मेयर साम्पाङले सामाजिक सञ्जालमा फेसबुकमा आज (शुक्रवार)मध्यान्न १२ बजे प्रमाण लिएर आउनु होला संजिता धमला जी भन्दै नागरिकताको सिफारिस गर्दा घुस खानेको रैछ प्रमाणित गरिदिनु परो, अन्यथा, सार्वजनिक रूपमै माफी माग्नु परो भन्दै ३ पटक स्ट्याटस लेखेका थिए ।

sanjita-dhamala-KapuriNewsniwedan-Sanjita-1