धरान : भारतीय राजदूतावासको धरान स्थित पेन्सन वितरण कार्यालयले कोशी प्रदेशका २१ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

दूतावासले भारतीय सैनिक सेवाबाट अवकाश पाएका भूप सैनिक तथा उनीहरूका परिवारलाई लक्ष्यीत गरी शिविर सञ्चालन गरेको हो । शिविर आयोजना गरिएका ठाउँहरूमा स्थानीय सर्वसाधारणको पनि स्वास्थ्य परीक्षण गरिएको थियो ।

पेन्सन कार्यालयका अनुसार शिविर पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा सञ्चालन गरिएको हो । साथै तराईका जिल्लाहरू झापामा ३ ठाउँ, मोरङमा ३ ठाउँ, उदयपुरमा २ र सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिएको थियो ।

पेन्सन कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया कटारी, बेल्टारका साथै झुम्कामा आफै उपस्थित भएका थिए । उनलाई शिविरका अवसरमा भारतीय भूप सैनिक र उनीहरूका परिवारले भव्य स्वागत गरेका थिए ।

उनले भूपूहरूको गुनासो, समस्या सुनेर समाधान गर्ने वचन दिए । भूप सैनिक र उनीहरूका आश्रितहरू, असक्त, वृद्ध भूपूहरूको असहजतालाई सहज बनाउन, दुःख कष्टमा साथ दिन पेन्सन वितरण कार्यालयको मुख्य उद्देश्य रहेको बताए ।

शिविरमा जीवित प्रमाणीकरण, मृत्युपछिको हकवाला सम्बन्धी विषयको सहजीकरण गर्ने कार्य पनि गरिएको थियो । रहलपहल, नयाँ पेन्सन, पारिवारिक पेन्सनका कुराहरू पनि सुनिश्चित गरिएको बताइएको छ ।

शिविरको अवसरमा दस्तावेजीकरण कार्यहरू, भूपूहरूको कल्याणकारी योजनाहरू, फयुनरल ग्राण्ट, म्यारिज ग्राण्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ईसिएचएसको सदस्यता पनि वितरण गरिएको बताइएको छ ।

Pension-Office-dharan